www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकी नदीमा पहिरो खस्दा कालीपुलका ८ घर क्षति, ३ घाइते

ताण्डव/रासस

बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा ३ जना घाइते भएका छन् भने ८ घरमा क्षति पुर्याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छालसहितको बाढी आएको थियो ।

कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा ८ घरमा क्षति पु¥याएकोे जानकारी दिए । उनका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका छन् र उनीहरुलाई स्थानीयबासीले उद्दार गरी उपचारका लागि बेनी अस्पताल पुर्याएका थिए ।

Batas

उनले अहिले पनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको जानकारी दिए । मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयबासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयबासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।

‘पहिरोसँगै घरभित्रै नदीको बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सार्यौँ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ’, स्थानीयबासी सुरेश पुनले भने । उनका अनुसार बजारमा आएको छालले घरसँगै शौचालय, खानेपानीलगायतमा समेत क्षति पुर्याएको छ । छालले नदी नियन्त्रणका लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरुपमा भत्काएको छ ।

यसैबीच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । पहिरो खसेर आएको बाढीले पुर्याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयबासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.