www.tandavnews.com
Fact ~ In search of truth

मिश्रको ‘एकलौटी’ चित्त नबुझेपछि फुटको संघारमा विवेकशील साझा

ताण्डव

विवेकशील साझा पार्टीमा फेरि फुटको संकेत देखिएको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले अलगअलग केन्द्रीय समितिको बैठक बोलाएपछि पार्टी फेरि फुटतर्फ अग्रसर भएको देखिएको हो ।

अध्यक्ष मिश्रले जनआन्दोलनको उपलब्धिप्रति नै विमती राख्दै प्रतिवेदन सार्वजनिक गरेपछि सुरु भएको बिग्रह अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाउने अवस्थासम्म पुगेको उक्त पार्टीका सञ्चार विभाग उपप्रमुख हरिशप्रसाद भट्टले जानकारी दिए । पार्टी अहिलेसम्म विधान बिना नै चलेको र अध्यक्ष रविन्द्र मिश्रले एकलौटी गर्न खोजेपछि पार्टीमा फुट आएको उनले ताण्डव न्युजलाई बताए । पार्टीको विधानका विषयमा ६ महिनादेखि छलफल नै हुन नसकेपछि बाध्य भएर आफूहरु अलग हुनुपरेको उनले बताए ।

Batas

यता अध्यक्ष मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक डाकेका छन् । पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न भन्दै मिश्रले बैठकका लागि मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेलमार्फत् आमन्त्रण गरेका थिए ।

मिश्रले बोलाएको बैठक एकीकरण सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका संयोजक पाण्डेले बुधबार भने केन्द्रीय सदस्यहरुलाई बिहीबार भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठकका लागि बोलाएका हुन् ।

केन्द्रीय सदस्यहरुलाई पठाएको पत्रमा पाण्डेले लेखेका छन्, ‘विवेकशील साझा पार्टीको विधान दफा २० ‘१०’ अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेण्डा तय गरिने गरिएको व्यहोरा यहाँहरु सबैलाई अवगतै छ । यसपटक पनि उक्त अभ्यास अनुरुप एजेण्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीको अध्यक्षले उनकै शब्दमा मार्ग परिवर्तन गर्नु भएका कारण पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउनु उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ ‘३’ ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी बैठक आह्वान गरेको छु ।’

बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला ‘स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स’ को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेण्डामा छलफल हुने पाण्डेले उल्लेख गरेका छन् ।

संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको पार्टी अध्यक्ष मिश्रको दस्तावेजलाई चुनौती दिँदै संयोजक पाण्डेसहितका ४ नेताले पनि अलग्गै दस्तावेज सार्वजनिक गरेका छन् ।

२०७४ साउन ११ मा एक भएका तत्कालीन विवेकशील पार्टी र साझा पार्टी २०७५ पुसमा विभाजित बनेका थिए । फेरि २०७७ मंसिरमा एकीकरण गरेका उनीहरुले ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेका थिए । तर एउटा महाधिवेशनसम्म पनि नहुँदै विवेकशील साझा पार्टी फेरि फुटतर्फ अग्रसर देखिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.