www.tandavnews.com
Fact ~ In search of truth

गलेश्वर शिवालय मन्दिरमा ढलानकाे छाना हटाएर पित्तलको छाना

बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो ।

विसं २०७७ फागुन १५ गते भएको कोषको १५ औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना परिवर्तन गर्ने काम सकिएको कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले जानकारीदिए, ‘आपूर्तिकर्तासँग गत चैतमै सम्झौता गरे पनि निषेधाज्ञाका कारण पित्तलको पाटा ल्याउन नसकेपछि ४ महिना काम हुन सकेन’, उनले भने, ‘गत साउन अन्तिम सातादेखि सुरु भएको गलेश्वर मन्दिरको छानामा पित्तल राख्ने काम मंगलबार सकियो ।’

मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले रु ५ लाख ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । उनका बुबा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गरेको थियो । कुल रु ३१ लाख ५० हजार लागत अनुमान गरिएको पित्तलको छाना राख्ने योजनाका लागि कोषको आन्तरिक स्रोतबाट रु २७ लाखभन्दा बढी ब्यहोर्ने निर्णय भएको छ । यसअघि सिमेन्टको छानो वर्षेनी रङरोगन गरिँदै आएको थियो ।

Batas

अहिले छानोमाथि प्लाइउड र पित्तल राखिएको हो । पित्तलले छाएपछि आकर्षक देखिएको मन्दिर बलियो र टिकाउ हुने उनले बताए । छानो फेर्न कोषका कोषाध्यक्ष बमबहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरिएको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर यहाँको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुली बताउँछन् । मन्दिरमा भक्तजनले चढाउने भेटीबाट पूर्वाधार निर्माण, पूजा व्यवस्थापन, संस्कृत विद्यालय, वृद्धाश्रम र तीर्थयात्री निवास सञ्चालन भएको छ । पछिल्लो २ वर्षयता कोरोनाका कारण मन्दिरमा पूजाआजा नहुँदा आयस्रोत घटेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.