www.tandavnews.com
Fact ~ In search of truth

गैँडाकोटस्थित राजमार्ग दुईतर्फी सञ्चालन

कावासोती .

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो ।

पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास गरिए पनि हिलोका कारण समस्या हुँदै आएको थियो । पानी पर्ने क्रम रोकिएसँगै नयाँ बनाइएको डाइभर्सनबाट यातायात दुईतर्फी सञ्चालनमा आएको हो । सोमबारदेखि पानी पर्न रोकिएपछि हिलो भएको ठाउँमा मर्मत गरी बुधबार साँझबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडुले जानकारी दिए ।

Batas

बाढीले बगाएको डाइभर्सन गत शनिबार नै निर्माण गरेको भए पनि हिलो र दलदलका कारण सवारी वारपार गर्न भने सकेका थिएनन् । सोमबारबाट एकतर्फीरुपमा सञ्चालनमा आएको डाइभर्सन बुधबार साँझदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको सूचना अधिकारी बडुले बताए ।

तेइस स्मृतिबाहेक गैँडाकोटका अन्य डाइभर्सन भने यसअघि नै मर्मत गरिएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालन भएसँगै रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ छुट्न थालेका छन् । राजमार्ग पूर्णरुपमा अवरुद्ध हुँदा डाइभर्सनको दुवैतर्फ गरी करिब २० किलोमिटर सवारीको लाइन लागेको थियो । डाइभर्सनमा दुईतर्फी सवारी सञ्चालनमा आएसँगै उक्त सवारीको लाइन अहिले घट्दै गएको सूचना अधिकारी बडुले बताए । अझै सो खण्डमा बेला–बेलामा गाडी बिग्रिने, लेन मिचेर हिँड्न खोज्ने कारणले जामको समस्या कायमै रहेको छ ।

पानी नपरेर नियमित दुईतर्फीरुपमा आज दिनभर सवारी सञ्चालन हुन सके रोकिएका सबै गाडी पार हुनसक्ने उनले बताए । राजमार्ग विस्तारका क्रममा बनाइएका अस्थायी डाइभर्सन पानी परे कुनै पनि समय बाढीले क्षति पु¥याइ पुनः अवरुद्ध हुने सम्भावना भने यथावत छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.