www.tandavnews.com
Fact ~ In search of truth

डाइभर्सन खाेलाले बगाए पछि खोला तरेर दूध बिक्री गर्दै ब्यासका किसान

ताण्डव

पक्की पुलको विकल्पमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि तनहुँको ब्यास नगरपालिका–१३ बेलवासका कृषक जोखिमपूर्ण तरिकाले खोला तरेर दूध बिक्री गर्न बाध्य भएका छन् ।

गत असार १७ गते आएको बाढीले ब्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएपछि नगरपालिकाले असार २७ गते अस्थायी डाइभर्सन बनाएको थियो । उक्त डाइभर्सन पनि सोमबारको बाढीले बगाइदिए पछि कृषक थप मारमा परेका हुन् । छाब्दीखोलामा १८ वर्ष अगाडि पक्की पुल निर्माण भएको थियो ।

Batas

अस्थायी डाइभर्सन निर्माणपछि केही सहज भएको यहाँका कृषकलाई पुनः सास्ती भएको बेलवासका कृषक राजन सापकोटाले जानकारी दिए । पुल भत्किए लगत्तै पनि यहाँका कृषकले दुःख पाए, अहिले फेरि दुःख भयो, उनले भने, पुल भत्किएको १० दिनपछि अस्थायी डाइभर्सन बनेकोले सहज भएको थियो, फेरि खोला तरेरै दूध बिक्री गर्न आउनुपरेको छ ।

दूधको क्यान बोकेर खोला तर्दा जोखिम भएको उनी बताउँछन् । ‘केही दिनदेखि परेको झरीले छाब्दीखोला बढेपछि डाइभर्सन पनि बगायो, अहिले क्यान बोकेर खोला तर्नुपर्दा जोखिम छ’, उनले भने । छिटोभन्दा छिटो पक्की पुल निर्माण नभएसम्म यहाँका कृषकलाई सास्ती भइरहने सापकोटाको भनाइ छ ।

बेलबासमा ६० भन्दा बढी कृषकले दैनिक रुपमा दूध बिक्री गर्ने गर्छन् । यहाँबाट दैनिक डेढ लाखभन्दा बढीको दूध बिक्री हुन्छ । ‘डाइभर्सन भत्किएसँगै पशुलाई खुवाउने दाना ढुवानीमा पनि समस्या आउन सक्छ’, उनले भने, ‘कृषकको समस्यालाई सरोकारवालाले छिटो समाधान गर्नेतर्फ लागोस् ।’

बेलबासबाट दैनिक २ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने र उक्त दूध सबै सदरमुकामस्थित डेरीबाट बिक्री हुने गरेकामा खोलाको पुल र डाइभर्सन बगाएपछि कृषक मारमा परेको बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

पुल भत्किएर डाइभर्सन बनेपछि यातायात पनि सञ्चालन भइरहेको थियो । तर डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध भएको छ । बुद्धसिं मार्ग अन्तर्गत गर्ने यस ठाउँमा यातायात अवरुद्ध भएपछि दक्षिण भेगसँगको सम्पर्क टुटेको स्थानीयवासी यामबहादुर आलेले बताए । यही पुल हुँदै ब्यास– १३ को बेलवास, पोखरीभञ्ज्याङ, ब्यास– १४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुरलगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्थे ।

यस ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । भानु नगरपालिका–३ तुरतुरेमा रहेको बेलिब्रिज झिकेर यहाँ राख्नका लागि दुवैतर्फ जीप तयार भइसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । तर तुरतुरेमा रहेको बेलिब्रिजको केही भाग गत भदौ १ गते बगाइदिएको छ । ‘बेलिब्रिजको केही भाग ल्याइसकिएको थियो, केही भने मस्र्याङ्दीमा आएको बाढीले बगाइदियो, त्यसकारण पनि केही ढिला हुन गएको छ’, उनले भने, ‘अब अर्को ठाउँबाट ल्याउनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौ ।’

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.