www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आजदेखि

ताण्डव

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर/वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन् । उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेको मतदान अधिकृतले आफ्नो वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ ।

Batas

क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका सबै वडामा सम्भव भएसम्म आज नै अधिवेशन हुने र बाँकी नाम छुटेका तथा सूची मिलाउनुपर्ने वडामा समितिको स्विकृति लिएर १/२ दिनपछि अधिवेशन गर्न सकिने बताइएको छ । क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

करिब ९ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ गरी ७ पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २ सय १ पदाधिकारी र सदस्य १ लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिए । यसबाहेक मनोनित हुनेको संख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट १ लाख १४ हजार ५ सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.