www.tandavnews.com
Fact ~ In search of truth

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य होः प्रम देउवा

ताण्डव

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् ।

पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरेका छन् । सभापति देउवाले भने, ‘देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।’

Batas

लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी सावित गर्दै आएको उल्लेख गर्दै उनले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताए ।

कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिकरूपमा प्रारम्भ भएको छ । उनले भने, ‘संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच हामीले सुरु गर्नुपरेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कायम गरी सहभागी हुन कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।’

८ लाखभन्दा बढी कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४ औँ महाधिवेशको प्रक्रियामा सहभागी हुने उल्लेख गर्दै उनले आफूले ती सबै सदस्य र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपाली जनताले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भन्ने बुझिसकेको उल्लेख गरेका थिए । ‘त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु’, उनले भने ।

कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको जनाउँदै उनले सन्देशमार्फत जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रणसमेत गरेका छन् । यस महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेको र पार्टीका सबैले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पुर्याउनेमा सभापति देउवाले विश्वास लिएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.