www.tandavnews.com
Fact ~ In search of truth

‘पार्टी फुट्नुमा घरमुलीको दोष छ’

पोखरा/ताण्डव न्यूज

नेपाली राजनीतिको ईतिहास केलाउदा फुट र जुट प्रशस्तै भेटिन्छन् । अघिल्लो चुनावमा माओवादी र एमाले जुटेपछि सशक्त देखिएको वाम आन्दोलन अहिले तीन चिरा परेको छ । नेकपा माओवादी, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले अहिले आफ्नै मार्गचित्रमा हिँडेका छन् । एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादीकाे नेतृत्व माधव कुमार नेपालले गरेका छन् । यसै विषयमा केन्द्रित रहेर नेकपा (एस)का कास्की अध्यक्ष धनराज आचार्यलाई ताण्डवकर्मी अर्जुन गाहा मगर (सुशान्त)ले सोधेको ७ प्रश्नः

– वाम राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?

Batas

म २०४० साल देखि नै लागे । ८ कक्षामा स्कुलको अध्यक्ष भए । ९ कक्षामा जिल्ला कमिटिको सदस्य भए । यसर्थ ४० सालदेखि वाम राजनीतिमा निरन्तर छु ।

– वाम राजनीतितर्फ नै किन आकर्षित हुनुभयो ?

यसमा किन भन्ने कुरा त सुरुमा थाहा भएन । बुवा, दाइ, गाउँको सिनियरहरु सबै तत्कालिन माले र माक्र्सवादी पार्टीमा थिए । बुवाहरुको तहमा सबै माक्र्सवादी थिए । पछि नेकपा माले बनिसकेपछि गाउँघरमा मालेको सम्पर्क बढ्दै थियो । हाम्रो रविन्द्रजी र म मालेको सम्पर्कमा आयौ । विस्तारै पार्टीको सम्पर्कमा रहँदारहँदै पार्टी जीवनमै प्रवेश गरियो ।

– नेपालको कम्युनिष्ट आन्दोलन किन बारम्बार शिथिल भइरहन्छ ? अर्थात, गुट उपगुटमा बाँडिरहन्छ ?

पक्कैपनि, नेपालको कम्युनिष्ट आन्दोलन पटकपटक गुट र विभाजनबाट अगाडी बढेको छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीको आधारभूत तहमा साँझ बिहान के खाने भन्ने समस्या छ । त्यस तहलाई सुदृढ गर्ने, विभेद अन्त्य गर्ने र सुशासनयुक्त समाज निर्माण गर्ने दायित्व कम्युनिष्ट पार्टीको हो ।

तिनै नाराहरुले हामी पार्टीमा समाहित हुँदै गयौं । सैद्धान्तिक हिसाबले कसलाई, कसरी हेर्ने भन्ने सन्दर्भमा र त्यसप्रतिको दृष्टिकोणमा मतभेद हुँदा वाम शक्ति छिन्नभिन्न भयो । आन्दोलन कस्तो बनाउने, जनसँघर्षमा जाने कि जनआन्दोलनमा जाने ? जस्ता प्रश्नले पार्टीको कार्यदिशा फरकफरक भयो । सोही कारण कम्युनिष्ट पार्टी विभाजन भएको हो । तीसको दशकमा कम्युनिष्ट पार्टीहरु एक ठाउँमा भएर नेकपा माले बनेको हो ।

पचासको दशकमा आउदा अर्काे धार छुट्टियो । एउटा नेकपा माओवादीको नाममा जनयुद्धमा गयो । अर्काे मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद’ भन्दै जनसँघर्षको माध्यमबाट सत्तामा पुग्न सकिन्छ र त्यहीबाट समाज परिवर्तन गर्न सकिन्छ र समाजवाद हुदै साम्यवादमा पुग्न सकिन्छ भन्ने विचार लिएर अघि बढ्यो । त्यही सन्दर्भमा दुईवटा कम्युनिष्ट पार्टीबीच एकता पनि भयो । यद्यपि, फरक पृष्ठभूमिबाट जुटेको शक्तिलाई जोगाउन सकेनौ ।

अहिलेको फेरी विभाजनमा पुगेको छ । सरकारमा पुगिसकेपछि पुरा गर्नुपर्ने दायित्वबाट हामी चुकेका छौ । जसले हामीबीच विभाजन ल्यायो । पार्टी विभाजन हुनुमा थुप्रै कारण छन् । मूलक कारण भनेको नेतृत्वको कार्यशैली, विचार र दृष्टिकोणमा आएको मतभिन्नता नै हो । फेरिपनि एउटा सशक्त कम्युनिष्ट पार्टी एकीकृत गरेर लैजानुपर्छ भन्ने कुरामा कसैको दुईमत छैन ।

– नेकपा फुटमा तपाई कसको दोष देख्नुहुन्छ ?

पार्टीमा १ नम्बरको मान्छे को हो, दोष पनि उसैको हो । अर्थात्, केपी ओली हो । जो ठूलो हो कमजोरी उसैको हुन्छ । त्यसपछि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमको हुन्छ । क्रमिकरुपमा सिनियर जो छ उसले जिम्मेवारी लिनपर्छ । कहिँकतै सानो जिम्मेवारी हाम्रो पनि हुनसक्छ । घर परिवारमा कुनै विग्रह भयो भने त्यसको जिम्मा घरमुली ले नै लिन पर्ने हैन र ? घरमुलीले गल्ती कमजोरी सच्याएर आएको अवस्थामा फेरी पनि पार्टी एकता हुन सक्छ । अन्यथा हाम्रो नीति र विचार मिल्ने पार्टीसँग एकता गर्दै वृहत् र सशक्त कम्युनिष्ट पार्टी बनाउने दिशामा हामी अघि बढ्छौं ।

– नेकपा एकीकृत समाजवादीको बाटो रोज्नुभएको छ, मूल एजेण्डा के हो ?

नवौं महाधिवेशनले अगाडी सारेको नेपाली समाजको रुपान्तरणका लागि हामीले जुन खालको सामन्तवादको अन्त्य भयो र अब समृद्धिको बाटोमा जानुपर्छ भनेका थियौं, त्यही हो । समाजवाद उन्मुख कार्ययोजना लागु गर्नुपर्छ भनेर जुन विचार सिद्धान्त नीति अघि सारेका थियौ । सोही विचार र नीति नै हाम्रो पार्टीको एजेण्डा हो । दुई तिहाईको सरकार भएकोबेला हामीले ४ वटा बजेट ल्याएर त्यसको गुञ्जायस गरेका हौं । सोही भिजनकासाथ हामी हाम्रो पार्टीको दिशामा अघि बढेका छौं । अझ भनौ, नेकपा एकीकृत समाजवादी कमरेड माधवकुमार नेपालको नेतृत्वमा त्यही दिशामा अघि बढेको छ ।

– निर्वाचन नजिकिँदैछ, नतीजाको अनुमान गर्नु भएको छ ?

सम्मानजनक र राम्रो आउँछ । त्यसमा त कुनै दुईमत छैन । हामीसँग त मुद्धा छन्, इस्यु छ । यत्रो दुई तिहाई दिएर पठाका थियौ । तपाईलाई अब किन भोट चाहियो । त्यो त लथालिङ्ग बनाउनु भयो, भिरबाट गुल्टाउनु भयो । तपाईलाई किन भोट दिने ? भन्ने प्रश्न हामीले झेल्नु पर्दैन । हामीसँग त प्रशस्तै एजेण्डा छन् । सशक्त कम्युष्टि पार्टी र समाज रुपान्तरणका कार्यक्रम लिएर जान्छौ ।

– फेरी पार्टी एकताको सम्भावना देख्नुहुन्छ ?

तत्काल सम्भावना छैन । हिजो छुट्यौ, आज मिलिहालौं भन्ने हुँदैन । अब महाधिवेशनमा विचार र सबै कुराहरुमा मिलेर, रुपान्तरण गरेर, सच्याएर र गल्ती कमजोरीहरु स्वीकार गर्दै अघि बढ्यौ भने कम्युनिष्टबीचमा एकता हुनसक्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.