www.tandavnews.com
Fact ~ In search of truth

सहिदमार्ग कालोपत्र हुने

ताण्डव

स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप ताराखोला गाउँपालिकाको केन्द्र अर्गल जाने सडक कालोपत्रको लागि छनोट भएको छ ।

गण्डकी प्रदेश हेर्ने स्थानीय पूर्वाधार आयोजना विकास कार्यालय पोखरा मातहतको आयोजना छनोट समितिले रिजालचोक–अमरभूमि–अर्गल सडक छनोट गरी केन्द्रमा सिफारिस गरेको हो । कार्यालय प्रमुख कुमार थापाको संयोजकत्वमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर राम पराजुली र ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरे सदस्य रहेको समितिले सो निर्णय गरेको हो ।

Batas

सिफारिस स्वीकृत भएपछि छिट्टै ‘डिपिआर’ बनाएर निर्माणको काम थालिने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । गाउँपालिकाले ‘सहिद मार्ग’ का रूपमा नामाकरण गरेको उक्त सडकको दूरी २० किमी छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका–५ रिजालचोकबाट उत्तर–पश्चिम हुँदै सो सडक ताराखोलाको केन्द्रमा जोडिन्छ । उक्त खण्ड कालोपत्रका लागि झण्डै रु ७० करोडको लागत अनुमान गरिएको छ ।

आयोजनामा संघ सरकारको ७०, प्रदेशको १० र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने अध्यक्ष घर्तीले बताए । छनोट समितिको निर्णयबाट सिफारिस भएकाले सडक कालोपत्रको सुनिश्चितता भएको उनको भनाइ छ । जनयुद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता र जनसमुदाय मिलेर उक्त सडकको मार्ग खोलेका थिए । मार्ग खुलेको वर्षौँ बित्तासमेत सडक कालोपत्र हुनसकेको थिएन । गाउँपालिकाले आफ्नै बजेटबाट मर्मत, सुधार गर्दै आए पनि सडकको स्तरवृद्धि हुनसकेको छैन । वर्षायाममा त सडक जीर्ण नै बन्छ । जोखिम उठाएर यात्रा गर्नुपर्ने स्थिति छ ।

सरासर काम भएमा आगामी ३ वर्षभित्रमा सडक कालोपत्र भइसक्ने जनाइएको छ । पक्की सडकसँग जोडिएमा सर्वसाधारणका लागि आउजाउ गर्न सहज हुनुका साथै ताराखोलाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउन पुग्ने देखिन्छ । कृषि, पशु र वनजन्य उपजका दृष्टिले ताराखोला जिल्लामै धनी छ । अहिले पनि त्यहाँका मौलिक उत्पादन बाहिर निर्यात भइरहेका छन् । आलु, भाँगो, च्याउलगायतको खेतीका लागि ताराखोला प्रख्यात छ ।

स्तरीय सडक सञ्जालले त्यहाँको पर्यटकीय विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । स्तरहीन सडकका कारण अहिले ताराखोलाबाट सदरमुकाम आउन घण्टौँको यात्रा तय गर्नुपर्छ । उक्त आयोजना पूरा भएमा लोकमार्ग हुँदै प्रदेश राजधानी पोखराको यात्रा छरितो हुनेछ । सरकारले ल्याएको प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधिअनुसार पक्की सडकसँग नजोडिएका स्थानीय तहले सडक पहिचान गरी आयोजना कार्यालयमा पठाउने गरेका छन् । सरकारले सबै स्थानीय तहका केन्दसम्म कालोपत्र सडक पुर्याउने लक्ष्य लिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.