www.tandavnews.com
Fact ~ In search of truth

६ जनाकाे सामूहिक हत्याबारे प्रहरीको अनुसन्धान सुरु

ताण्डव

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो ‘सिआइवी’ को टोली पठाइएको छ ।

प्रहरी प्रधान कार्यालय अनुसार प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली खटाइएको हो । ‘टोली संखुवासभा पुगिसकेको छ, विकट क्षेत्रमा घटना घटेकाले घटनास्थल पुग्न केही समय लाग्छ’, सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले भने ।

आइतबार राति उक्त घटना भए पनि सोमबार बिहान प्रहरीमा जानकारी आएको थियो । घटनास्थल जिल्ला सदरमुकाम चैनपुरबाट ५५ किलोमिटर पूर्वमा पर्छ । एकै परिवारका ६ जनाको हत्या हुँदा ९५ वर्षका बौद्धमान कार्की भने सकुशल भेटिएका थिए । उक्त घटनामा ८४ वर्षीया पार्वता कार्की, उनका छोरा ५८ वर्षका तेजबहादुर कार्की, उनकी श्रीमती ५६ वर्षकी मनमाया, बुहारी २८ वर्षकी रञ्जना, उनका छोराछोरी १० वर्षका विपीन र ५ वर्षकी गोमा कार्कीको हत्या भएको थियो । उनीहरुको शव फरकफरक स्थान ‘बारी, खोला र सडकको भित्ता’ मा फेला पारिएको थियो । प्रहरीले कुकुरसमेत प्रयोग गरी घटनाको अनुसन्धान जारी राखेको छ ।

अधिकांशको टाउकोमा हानेको देखिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार घटनाका केही ‘क्लु’ फेलापरेको र त्यसको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । उनले अनुसन्धान गरी दोषीलाई पक्राउ गरिने पनि बताए । उनका अनुसार संघीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा समेत घटनाको अनुसन्धानका लागि प्रहरी टोली यसअघि नै खटाइसकिएको छ ।

घटनास्थलको प्रकृति मुचुल्का उठाई अहिले शवको परीक्षकका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उक्त क्षेत्रको नाकामा उच्च सुरक्षा निगरानीका साथ घटनाको अनुसन्धान जारी रहेको छ । प्रदेश नं १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको नदेखिएको तर लाठी, हम्मरलगायतले टाउको तथा शरीरका विभिन्न भागमा हानेको देखिएको जानकारी दिए । अहिले घटनाको अनुसन्धानकै चरणमा रहेकाले त्यसको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.