www.tandavnews.com
Fact ~ In search of truth

चेपाङ समुदायको ठूलो पर्व न्वागी ‘छोनाम’ मनाउँदै

ताण्डव
चेपाङ समुदायले आज न्वागी ‘छोनाम’ पर्व मनाइँदै छ । चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी विगत वर्षमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । नेपाल चेपाङ संघका केन्द्रीय महासचिव आइतसिङ चेपाङका अनुसार चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते यो पर्व मनाउँदै आएको छ ।

चेपाङ समुदायले धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा न्वागी पर्व मनाउने गरेको उनले बताए । महासचिव आइतसिङका अनुसार चेपाङ समुदायमा नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफूलहरू चढाएर मात्रै आफूले खाने चलन छ । पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । सो दिन उनीहरूले कुखुराको बलिसमेत दिने गर्छन् ।

न्वागीका दिन चेपाङ झाँक्री पान्देहरूले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाँच र गीत प्रस्तुत गर्ने गर्छन् । रातभर दोहोरी गाउने केटाकेटी चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलनसमेत रहँदै आएको उनले बताए ।

Batas

विसं २०६३ देखि चेपाङ समुदायले नेपाल चेपाङ संघको आयोजनामा यो पर्व सामूहिकरूपमा मनाउँदै आएको हो । त्यसअघि चेपाङ समुदायले परापूर्वकालदेखि नै टोलटोलमा जम्मा भएर यो पर्व मनाउँदै आएका थिए । संघले चेपाङ समुदायको बसोबास गर्ने जिल्ला र पालिकामा हरेक वर्ष आलोपालो गरी कार्यक्रम आयोजना गर्दै आएका छन् ।

उनका अनुसार यस वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुरमा सामूहिक कार्यक्रम आयोजना गरिने भएको छ । चैनपुरमा उपस्थित हुन नसक्नेहरूले गाउँ टोलमै विधिपूर्वक न्वागी मनाउने छन् । नेपालको २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको संख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३ सय ९९ रहेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.