www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका ४ जलविद्युत् आयोजना बन्द

ताण्डव
प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित ४ जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका २, पर्वत र मुस्ताङका १/१ आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो ।

मोदीखोला–१ जलविद्युत् आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेसन जोड्ने १ सय ३२ केभी क्षमताको प्रशारण लाइनको ४ नम्बरको टावर गत शुक्रबार राति बाढीपहिरोका कारण ढलेको थियो । १० मेगावाट क्षमताको मोदी–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले मोदी सबस्टेसन भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिने अन्य आयोजना पनि प्रभावित भएका जानकारी दिए । ५ सय मिटर नहरमा माटो थुप्रिएको मोदी–१ को बाँधमा पनि क्षति पुगेको छ । मोदी–१ का साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला र मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको १३।६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले डाइभर्सन ‘वैकल्पिक’ टावर बनाउन र ढलेको टावर मर्मतमा ढिलाई गर्दा करोडौ मुल्यको नोक्सानी भएको माउन्टेन इनर्जी नेपाल प्रवद्र्धक रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाका प्रतिनिधि चुडामणि निरौलाले बताए । ‘विद्युत् प्राधिकरणले खपत गर्न नसक्दा ३० देखि ३५ मेगावाटको हाराहारीमा उत्पादन गरिरहेका थियौं’, उनले भने, ‘सञ्चालनमा आएको २ महिनामै उत्पादन बन्द गर्नुपर्दा थप घाटा व्यहोर्नुपर्ने भयो ।’

Batas

कालीगण्डकी कोरिडोर प्रसारण लाइनको २ सय २० केभी क्षमताको दाना सबस्टेसनमा जोडिएका मिस्त्री खोला, थापाखोला र घलेम्दीको विद्युत् कुस्माको खुर्कोट सबस्टेसन हुँदै मोदी–१ को १ सय ३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसनमा पुग्छ । मोदी सबस्टेसनसम्म पुग्ने विद्युत् स्थानीय क्षेत्रमा वितरण हुँदै आएको छ ।

बढी भएको विद्युत् मोदीबाट लेखनाथ सबस्टेसनसम्म पुर्याउने गरिएको छ । प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत् आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायत टोलीलाई खटाएको जनाएको छ । मुस्ताङ, पर्वत, म्यादी र बागलुङ जिल्लाको विद्युत् सेवालाई शनिबार साँझदेखि नै सञ्चालनमा ल्याएको प्राधिकरणको टोलीले प्रसारण लाइन मर्मतमा प्राथमिकताका साथ निरन्तर खटिएको जनाइएको छ ।

यसपालिको वर्खा सुरु भएयता गण्डकी प्रदेशका विद्युत् पूर्वाधारमा रु १० अर्बभन्दा बढीको क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ‘इपान’ ले जनाएको छ । बाढीपहिरोले निर्माणाधीन तथा निर्माण पूरा भई सञ्चालनमा आएका जलविद्युत् आयोजना एवं प्रशारण र वितरण लाइनका संरचना क्षतिग्रस्त हुँदा ऊर्जा क्षेत्रका लागि ठूलो आर्थिक नोक्सानी भएको इपानका प्रदेश सदस्य शंकर बस्यालले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.