www.tandavnews.com
Fact ~ In search of truth

मादी हत्या प्रकरणः घटना राति भयो की बिहान अझै अन्योल

किमाथाङ्का ।

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको छ । सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीमबहादुर दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको हो ।

सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको खबर जानकारी हुने बित्तिकै स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घर वरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए ।

Batas

घटनाको प्रकृति हेर्दा जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान हुन नसक्ने भएपछि सङ्घीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो । उक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन गरिसकेपछि शव परीक्षणका लागि मङ्गलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनाको थप अध्ययनका लागि तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायतको टोली घटनास्थल आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीया दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।

एउटै परिवारका ६ जनाको हत्या भएपछि पुरै गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए । “सिङ्गो गाउँमा सन्नाटा छाएको छ । कसैले पनि यस्तो दर्दनाक घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैन्” उनले भने, “घटना देखेका र सुनेका छिमेकीहरू कसैको घरमा चुल्हो बलेको छैन ।” घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको वडाध्यक्ष कटुवालले जानकारी दिए ।

उनका अनुसार हत्या बिहान वा राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ । वृद्ध अवस्थाका बौद्धमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताएका छन् । मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो । प्रहरी र स्थानीयवासीका अनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.