www.tandavnews.com
Fact ~ In search of truth

नेपाल वायुसेवा निगमले नयाँ दिल्ली दैनिक १ उडान गर्ने

सिबी अधिकारी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ ले भारतको नयाँ दिल्ली दैनिक १ उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन् ।

नेपाल एयरलाइन्सले दैनिक १ उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका ३ दिन ‘आइतबार, मंगलबार र शुक्रबार’ उडान अनुमति पाएको छ । एयर बबल सम्झौताअनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा ३ उडान हुँदै आएका थिए । बन्दाबन्दीपछि सुरुमा सातामा एकदुई उडान गर्दै आएकोमा अहिले एयर बबलअनुरुप नै दैनिक उडान तालिका बनाइएको हो । भारतका अन्य २ महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । नेपाल एयरलाइन्सले भारतका ३ सहित ७ देशका ९ गन्तव्यमा उडान भर्दै आएको छ ।

Batas

निगमका एक विभागीय निर्देशकका अनुसार नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ । हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । नेपालमा पर्यटकीय सिजन सुरु भएको छ । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य संख्यामा विदेशी नेपाल आउँछन् ।

एयर अरेबियाले हरेक दिन काठमाडौँ गन्तव्यमा २ उडान गर्ने गरी अनुमति पाएको छ । सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ । यस्तै फ्लाई दुबईले काठमाडौँका लागि सातामा १० उडान गर्नेछ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर विमानस्थलमा साताको ६ उडान सञ्चालन गर्नेछ । सोही एयरलाइन्सले दुबईका लागि साताको ६ उडान सञ्चालनको अनुमति पाएको छ । त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा कूल ७ उडानको अनुमति पाएको छ ।

जजिरा एयरवेजले काठमाडौँका लागि हरेक दिन उडान गर्नेछ । कोरियन एयरले साताको १ दिन ‘बुधबार’ काठमाडौँ उडान गर्नेछ । मालिन्दो एयरको जहाजले क्वालालम्पुरबाट साताका ४ ‘सोमबार, बुधबार, शुत्रबार र शनिबार’ उडान गर्नेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौँ आउने क्यानले जारी गरेको उडान तालिकामा उल्लेख छ ।

नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन १ उडान गर्नेछ । दुबई इन्टरनेशनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामा ४ ‘सोमबार, बुधबार, बिहीबार र शनिबार’ उडान गर्ने तालिका छ । उक्त एयरलाइन्सले क्वालालम्पुरमा सातामा ४ उडान गर्नेछ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । त्यस्तै हङकङका लागि हरेक मंगलबार उडान हुनेछ ।

त्यसैगरी कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक ३ उडानको अनुमति पाएको छ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको ३ दिन काठमाडौँ गन्तव्यमा उडान भर्नेछ । टर्किस एयरले साताका ३ दिन ‘सोमबार, बिहीबार र शनिबार’ काठमाडौँमा उडान गर्नेछ । सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार तथा शनिबार गरी सातामा २ उडान गर्न अनुमति पाएको छ । यो उडान तालिका सेप्टेम्बर ३० सम्मका लागि मात्रै हो । अब क्यानले छिट्टै विन्टर उडानको तालिका बनाउनेछ । अहिले ३ नेपालीसहित १२ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.