www.tandavnews.com
Fact ~ In search of truth

वैकल्पिक सिकार्ई प्रणालीः ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

प्रकाश सिलवाल

कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकार्ई प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रामीण क्षेत्रमा रेडियोको पहुँच र प्रभावकारिता सहरी क्षेत्रमा भन्दा बढी देखिएकाले विद्यालय पुनः सञ्चालन भएपछि पनि रेडियो कक्षालाई निरन्तरता दिन थालेको हो । वैकल्पिक सिकार्इ प्रणालीमा ग्रामीण क्षेत्रमा अन्य माध्यमका तुलनामा रेडियो प्रभावकारी पाइएको विभिन्न अध्ययनले देखाएको छ । बिजुली, इन्टरनेट र टेलिभिजनजस्ता साधन नभएका स्थानमा सूचना र शिक्षाका रेडियो भरपर्दो साधन सावित भएको छ ।

हाल कक्षा ६ देखि १० सम्मका अनिवार्य र विभिन्न विषयमा श्रव्य पाठहरु तयार गरी प्रसारण गराइएको छ । केन्द्रले बनाएको स्वअध्ययन पुस्तकमा रेडियो सुनेर विद्यार्थीलाई गृहकार्य गराउन सकिने स्रोत सामग्री उपलब्ध छ । केन्द्रले विद्यार्थीलाई रेडियो कक्षामा टिकाइराख्न एउटा रेडियो कक्षालाई १५ मिनेटको हुने गरी नाटकीकरण, संवादात्मक र रमाइलो बनाइएको छ । गुड नेवर्सले सरकारसँगको समन्वयमा हुम्ला, मुगु, नुवाकोटलगायत १२ जिल्लामा कक्षा ८ का १ सय ८६ विद्यार्थीमा गरेको सर्भेले ८१ प्रतिशत विद्यार्थी रेडियो कक्षामा सहभागी हुने गरेको पाइएको छ । सहभागी विद्यार्थीमध्ये २९ प्रतिशतमा अति प्रभावकारी र ६६ प्रतिशतमा प्रभावकारी भएको पाइएको छ ।

Batas

कोभिड–१९ पछि नेपाल सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन आग्रह गरेको थियो । मन्त्रालयले गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी सो वर्षको असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गरेको थियो । निर्देशिकामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिनेछ । सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ ।

सो केन्द्रलेले हाल रेडियो नेपाल, सामुदायिक रेडियो प्रसारक संघ ‘एकोर्याव’, कान्तिपुर एफएमलगायतसँग सहकार्य गरी विद्यालय तहका अनिवार्य विषयलाई प्राथमिकता दिइ यस्तो कक्षा सञ्चालन गर्दै आएको छ । एकोर्याबमा आवद्ध २ सय १ रेडियोमार्फत् बिहान १० देखि ११ बजे र साँझ ५ देखि ६ बजेसम्म कार्यक्रम प्रसारण हुँदै आएको छ । शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिताका सम्बन्धमा एकोर्याबले सातै प्रदेशका १ सय ९२ शिक्षक, अभिभावक र विद्यार्थीमा गरेको पछिल्लो अध्ययनमा ८८ प्रतिशतलाई कार्यक्रम प्रसारण हुने समय उपयोगी लागेको देखिएको छ ।

केन्द्रका निर्देशक माधव दाहालले हाल कक्षा ९ र १० का अनिवार्य विषयलाई बढी जोड दिइएका श्रव्य कक्षाहरु छिट्टै कक्षा ६ देखि १२ विस्तार गरिने बताए । उनले सानो खालको मोबाइलमा पनि रेडियो सुन्न सकिने भएकाले यो माध्यम वैकल्पिक स्थितिमा उचित भएको पाइएको जानकारी दिए ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धीबहादुर कार्कीले रेडियो कक्षा प्रभावकारी भएको स्रोताको प्रतिक्रिया पाइएको बताए । ‘दूरशिक्षाअन्तर्गत प्रसारित शैक्षिक कार्यक्रम र रेडियो नेपालको प्रसारणको प्रभावकारिता’ विषयमा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायमा स्नातकोत्तर तहमा शोधपत्र बुझाएका निर्देशक कार्कीले विषयगत श्रव्य पाठको प्रसारणलाई निरन्तरता दिइने जनाए । सन् २०१९ मा गरिएको सर्वेक्षणमा रेडियो नेपालको ८९ प्रतिशत नेपाली जनसंख्यामा पहुँच रहेको देखाएको थियो । यो संस्थाका सातै प्रदेशमा २५ रिले स्टेसन र ६ वटा प्रादेशिक प्रसारण छ ।

एकोर्यावका महासचिव किशोरजंग थापाले सामुदायिक रेडियोहरु स्रोताको रोजाइमा भएकाले यसमार्फत् शिक्षा्ण सिकार्इ प्रभावकारी भएको बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघका महासचिव गुणराज मोक्तानले रेडियोमार्फत्को सिकाइलाई थप प्रभावकारी बनाउन अभिभावकको सक्रिय भूमिका र शिक्षकको सहजीकरण हुनुपर्नेमा जोड दिए ।

नेपालमा राष्ट्रिय प्रसारण रेडियो नेपालले प्रवेशिका उत्तीर्ण नभएमा शिक्षकका लागि विसं २०३७ देखि ‘रेडियो शिक्षक’ तालिम कार्यक्रम सञ्चालन, प्रवेशिका उत्तीर्ण भएका शिक्षकलाई घन्टे तालिम सञ्चालन र २०६२÷०६३ मा अनिवार्य विषयका लागि एसएलसी सहयोग कार्यक्रम ‘दूर तथा खुला’ सञ्चालन गरेको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.