www.tandavnews.com
Fact ~ In search of truth

राखेपका पूर्वसदस्यसचिव राणाको निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

रासस

राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का पूर्व सदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ । उन्को गए राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँको बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी मृगौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मृगौला प्रत्यारोपणपछि राणा नियमितरूपमा डायलायसिस गर्दै आएका थिए ।

राणाले राखेपको २ पटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उन पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी ‘एनओसी’ को अध्यक्षसमेत बनेका थिए । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।

Batas

राणाले अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गर्नुभएका थिए भने नेपाल तेक्वान्दो संघ र नेपाल एथलेटिक्स संघको समेत अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहेका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहेका थिए । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए । उनको आजै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरी पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे ।

राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेको थियो । गए राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको उनका ज्वाई शाहले बताए । स्व राणाका एक श्रीमती र एक छोरी छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.