www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस महाधिवेशनः कस्ता छन् पोखरा महानगर सभापति उम्मेद्वारका प्रतिवद्धता ?

जीवन सुवेदी/ताण्डव

नेपाली काँग्रेसको १४ औँ महाधिवशेन अन्र्तगत पोखरा महानगरको नेतृत्वका लागि ६ जनाको उम्मेद्वारी दर्ता भएको छ । पोखरा महानगरमा असोज ९ गते हुने निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता भएको हो ।

उम्मेद्वारी दर्ता गराउँदै उनीहरुले विभिन्न प्रतिवद्धता जनाएका छन् । प्राय सबै उम्मेद्वारले काँग्रेसलाई बलियो बनाउने प्रतिवद्धता जनाएका छन् ।
नगरसभापतिको पदमा पत्रकार गंगाधर पराजुली, नेपाली काँग्रेस नगर समितिका उप–सभापति सुरेन्द्रमान विजुक्छे, पोखरा महानगर वडा नं ११ का वडा अध्यक्षसमेत रहेका नेता मोहन बास्तोला, ९ का वडा अध्यक्ष रामराज लामिछाने, नेताहरु मिलन तिवारी र पत्रकार ज्योति हमालले समेत उम्मेद्वारी दर्तासँगै पर्चा, पम्पलेट, फ्लेक्सबोर्ड, अनलाईन तथा टेलिभिजनको माध्यमबाट आआफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरिरहेका छन् ।

Batas

उम्मेद्वारी दर्ता पछि ताण्डव न्युजसँग कुराकानी गर्दै गंगाधर पराजुलीले काँग्रेसको गिरेको साख जोगाउन आफूले उम्मेद्वारी दिएको बताए । कास्की जिल्लाका ३ वटै क्षेत्रमा नेपाली काँग्रेसले जीत हासिल गरेको स्मरण गर्दै पराजुलीले काँग्रेसको उक्त साख फिर्ता गराउने अभियानका लागि आफूले उम्मेद्वारी दिएको बताए । काँग्रेसको नीति र सिद्धान्तबारे नया पुस्ता र तल्लो तहका कार्यर्तामाझ पुर्याउने आफ्नो योजना रहेको उनले बताए । ‘नेपाली काँग्रेसको विधानमा पनि विभिन्न विभागहरु समितिहरु बनाउने भनिएको छ तर त्यस्ता विभागहरु पोखरा महानगरमा मात्र होइन, जिल्ला र देशभर पनि बन्न सकिरहेका छैनन्’ उनले भने ‘पोखरा महानगरमा त्यस्ता विभाग र समितिहरु बनाएर अधिकांश कार्यकर्तालाई जिम्मेवारी दिएर उनीहरुलाइ तल्लो तहबाट परिचालन गर्ने मेरो अभियान रहनेछ’ काँग्रेसको विधान बमोजिम विभिन्न भेला तथा छलफल गरेर पार्टीले तय गर्नुपर्ने योजनाहरुबारे पनि छलफल चलाउने उनको प्रतिवद्धता छ । ‘हामी वार्षिक रुपमा, अर्धवार्षिक रुपमा विभिन्न जातजाति समुदायको भेला गरेर काँग्रेसले के विचार लिनुपर्छ कस्तो एजेण्डा लिनुपर्छ भन्ने विषयमा छलफल चलाउनेछौँ ।’ पोखरा महानगरमा नेपाली काँग्रेस अहिले कमजोर अवस्थामा रहेको बताउँदै पराजुलीले महानगरपालिकामा भएका ढिलासुस्तीमा देखिनेगरी खवरदारी गर्ने अफ्नो योजना रहेको समेत उनले बताए ।

त्यस्तै अर्का उम्मेद्वार मोहन बास्तोलाले पनि आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । ताण्डवसँगको कुराकानीमा बास्तोलाले तितरवितर भएको काँग्रेसलाई सम्हाल्ने अभियान स्वरुप आफूले उम्मेद्वारी दिएको बताए । ‘अझै पनि सम्हालिन सकेको छैन काँग्रेस, हामी अझै पनि काँग्रेसको विधानमा के छ भन्ने कुरा स्पष्ट हुन नसकेको पाएको छु’, उनले भने, ‘३३ वटै वडाभित्र नेपाली काँग्रेसको बिग्रिएको साखलाई जोगाएर महानगरको नेतृत्वमा काँग्रेसलाई ल्याउनुपर्छ भनेर उम्मेद्वार बनेको हुँ ।’ बाँस्तोला पोखरा महानगरको वडा नं ११ का वडा अध्यक्षसमेत हुन् ।

त्यस्तै महानगरको वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले पनि काँग्रेसलाई एकढिक्का बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘विशेषगरी नेपाली काँग्रेसको संगठन केही कमजोर भएको अवस्था छ’, उनले भने, ‘कमजोर भएको संगठन सुदृढ बनाउने प्रयास गर्छु ।’ विगतको आफ्नो अनुभवलाई समेटेर महानगरलार्इ सक्षम नेतृत्व प्रदान गर्न आफू उम्मेद्वार बनेको लामिछानेको भनाई छ ।

काँग्रेस महानगर समितिमा हाल उपसभापति रहेका सुरेन्द्रमान विजुक्छेले पार्टीलाई बलियो बनाउन आफूले उम्मेद्वारी दिएको बताए । २०३६ सालदेखि राजनीतिमा आवद्ध भएको सुनाउँदै विजुक्छेले उप–सभापतिबाट सभापपतिमा जानका लागि आफ्नो उम्मेद्वारी स्वाभाविक रहेको बताए । ‘म सभापति भैसकेपछि स्थानीय निर्वाचनमा पोखरा महानगरका पार्टीका सबै उम्मेद्वारलाई जिताउनमा मेरो एकदम पहल हुनेछ,’ उनले भने, ‘संगठनलाई बलियो बनाउनका लागि व्यवस्थित सचिवालय बनाउन पहल गर्नेछु ।’ महानगर सभापति निर्वाचित भएमा अन्य कुनैपनि पदमा आफूले दावी नगर्ने विजुक्छेको भनाई छ ।

सभापतिकै अर्का उम्मेद्वार हुन् मिलनप्रसाद तिवारी । पार्टीमा लागेर सेवक बन्न चाहेकाले उम्मेद्वारी प्रस्तुत गरेको उनले बताए । ‘मेरो धेरै प्रतिवद्धता छैन, उनले भने ‘मैले पार्टीलाई मेरो जिवन पुरै समाज र पार्टीका निम्ति समर्पित गरेको छु तसर्थ मेरो उम्मेदवारी हो ।’ आफू पूर्णकालिन राजनीतिमा लगेर जनताको सेवा गर्ने योजना रहेको उनले बताए ।

महानगरको सभापति पदमा उम्मेदवार रहेकी एकमात्र महिला हुन् ज्योति हमाल । गण्डकी प्रदेश सरकारमा महिला सहभागिताको विषय उठाएर उनी चुनावमा होमिएकी छिन् । उनले महिला सहभागिता सुनिश्चितताका लागि आफूले उम्मेद्वारी दिएको प्रतिक्रिया दिईन् । यसैबीच नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिवेशनसमेत सम्पन्न हुन नसकेपछि कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो ।

कांग्रेस निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको बताउँदै महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको बताए । उनका अनुसार शुक्रबार डडेलधुरा जिल्लाको वडा अधिवेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ । बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ बजे गर्ने निर्णय भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार काँग्रेसले वडा अधिवेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो ।

यस्तै पालिकाको अधिवेशन भदौ २३ गते गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब पालिकाको अधिवेशन असोज ९ गते हुनेछ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यसैगरी एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ अधिवेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिवेशनको मिति पनि तत्काल परिवर्तन गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.