www.tandavnews.com
Fact ~ In search of truth

अवैध निर्माणमा निरन्तर ‘युवराज’, किन कारवाही गर्न सक्दैन पोखरा महानगर ?

पोखरा
ताण्डव न्यूज ।

पोखरामा सटर व्यापारीकारुपमा परिचित युवराज खतिवडा यतिबेला थुनामा छन् । बिहीबार लेकसाइडस्थित खहरेमा प्रहरीमाथि नै जाइलागेपछि उनलाई ७ दिनको म्याद थप गरी कास्की प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

फेवाताल किनारमा माटो हालेर पुर्दै गर्दा प्रहरी सम्झाउन पुगेको थियो । त्यत्तिकैमा प्रहरीमाथि जाइलागे पछि खतिवडालाई प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेको यो पहिलो पटक भने होइन । पोखरा–५ कि वडासदस्य अञ्जु केसीलाई बाटोको विषयमा धम्की दिएपछि उनि पक्राउ परेका थिए । २०७५ फागुन ६ गते पक्राउ परेका खतिवडालाई छुटाउन धादिङका नेताहरु कम्मर कसेर लागिपरेका थिए । वडासदस्य केसीसँग माफी मागेपछि खतिवडा हिरासत मुक्त भएका थिए ।

Batas

खतिवडाले पोखरा-५स्थित सिमाना मार्ग बाँसटारी – धारापानी बाटो निर्माणको क्रममा मान्छे लागाएर रकम असुली गर्न खोजेको आरोप समेत लागेको थियो ।

अवैध संरचनामा ‘युवराज’को राज

पोखरा–५ मा रहेको उनको घर नै सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको छ । पटकपटक समय लिएर आफै भत्काउछु भनेका खतिवडाले अटेर गरेपछि २०७५ चैतमा प्रहरीकै उपस्थितिमा उनको घर भत्काइएको थियो । सोही स्थानमा उनले पुनः संरचना बनाएका छन् ।

संरचना पुनः निर्माण भएको थाहा पाएपछि हटाउन भनिएपनि अटेर गरेको महानगरका प्रवक्ता एवं पोखरा ५का वडाध्यक्ष धनबहादुर नेपालीले बताए । ‘हो फेरी निर्माण भएको छ । हामीले पटक पटक भन्दापनि अटेर गर्ने काम भइरहेको छ’ वडाध्यक्ष नेपालीले भने, ‘कांग्रेस, माओवादीको पावर देखाउँदै अटेर गर्ने गरेको छ । यसबारे हामीले छिट्टै निर्णय लिदैछौं।’

खतिवडाले पोखराको व्यस्त बजारमै अवैध संरचना तयार पारेका छन् । पृथ्वीचोकमा रहेको सस्तो बजारको संरचना कानुन लत्याउँदै तयार पारिएको हो । यसमा महानगरले रत्तिभर चासो देखाएन ।

सस्तो बजारमा युवराजको इन्ट्री

पोखराको फुटपाथ व्यवस्थापन गर्न २०६९ सालमा एउटा योजना बन्यो । तत्कालीन नगरपालिकाले उद्योग बाणिज्य संघ पोखरा लगायत सबै निकायसँग समन्वय गरेर फुटपाथ व्यवसायीहरुलाई उचित ठाउँ तोकेर सारियो । पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार पनि एक थलो बन्न पुग्यो । नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जग्गामा केही फुटपाथ व्यवसायीहरुले भाडा तिरेर व्यवसाय सुरु गरे । त्यही ठाउँको निगमले टेन्डर खोल्यो । कथित गुन्डा नाइके राजु गोर्खालीको सूर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रालिले टेन्डर हात पार्यो ।

प्रालिले टेन्डर पारेपनि व्यवसायीलाई हटाउन निकै गाह्रो प¥यो । पोखरामा राजु गोर्खालीको बागडोर धादिङका युवराज खतिवडाले सम्हाले । सरकारको जग्गा भएको हुनाले त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीले सोझै निगमसँग भाडा तिरेर व्यवसाय गर्न पाउनु पर्ने माग राख्दै व्यवसायीहरु पोखरा सस्तो बजारकै गेटमा धर्ना बसे ।

करिब २ महिना व्यवसायीले आन्दोलन गर्दा उनीहरुका लाखांैको सामान बजारभित्रै नष्ट भयो । व्यवसायीको माग जायज रहेको भन्दै विप्लव पक्षका माओवादीले समेत व्यवसायीलाई साथ दिए ।

यही विषयले गर्दा युवराज खतिवडाको ज्यान समेत झण्डैं गएन । बजारको विवाद चरम उत्कर्षमा पुगेपछि खतिवडामाथि आक्रमण भयो । आक्रमणमा परेका युवराजको दाइने खुट्टा अप्रेशनपश्चात् स्टिल हालिएको छ । त्यसपछि युवराजले आफ्नो कम्पनीले नियम अनुसार टेन्डर हालेर जग्गा लिएको हुनाले तत्कालिन समयमा जिल्ला प्रशासन कार्यालय कास्की उनकै पक्षमा थियो । युवराजलाई डर देखाउन सस्तो बजार अघि सकेट बम पनि राखियो । त्यति हुँदा पनि प्रहरी प्रशासनको साथ पाएका युवराज पछि हटेनन् तर अन्दोलन गरिरहेका व्यवसायीले हार माने ।

कथित गुन्डा नाइके राजु गोर्खालीको आडमा कम्पनीले कानुनलाई नै नजरअन्दाज गरी भवन बनायो । कम्पनीले महानगरपालिकालाई अटेर गर्दै अनुमति लिएको भन्दा धेरै तला थप्ने काम गर्यो । पटकपटक कारवाहीको कुरा उठ्दै गर्दा २०७५ असोज ८ गते बसेको महानगरपालिकाको बैठकले नक्सापास तथा महानगरको अनुमतिबिना संचालनमा रहेको सस्तो बजारलाई प्रचलित कानुन बमोजिम जरिवाना गरी जग्गा सम्झौता अवधि पश्चात् संरचना हटाउने गरी नक्सा पास प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो ।

पटकपटक अटेर गर्दै संरचना निर्माण गरिरहेको भन्दै महानगरका मेयर मानबहादुर जिसीले ‘अझै पनि मापदण्ड पुरा नगरे भत्काउने’सम्म भनेका थिए ।

‘गिटी बालुवामा गुण्डागर्दी तर असफल खतिवडा’

केही वर्ष अघि युवराज खतिवडा गुण्डागर्दीमै उत्रिए । त्यसबेला तत्कालिन लेखनाथ–१६ र गगनगौडाका स्थानीयले विरोध गर्दागर्दै खतिवडाले गुण्डा लगाएर स्थानीयमाथि कुटपिट गरे । तत्कालिन जिल्ला विकास समिति कास्कीले लामगादीको सतीघाटबाट बालुवा निकाल्ने ठेक्का पवित्र निर्माण हाउजिङ प्रालि खड्कभन्ज्याङ नुवाकोट–९ लाई दिएको थियो । उक्त ठेकेदार कम्पनीका सञ्चालक खतिवडाले दुई वर्षको लागि १२ लाख रुपैयाँमा ठेक्का पारेका थिए । त्यहाँ बालुवा निकास गर्न बस्तीलाई असर पर्ने गरी बाटो खन्ने मनसाय खतिवडाको थियो ।

त्यसरी बाटो लागेर बालुवा निकाल्दा लामगादीका १ सय ४० घरधुरीको ७ सय बढी मान्छेलाई प्रत्यक्ष असर पर्ने भएपछि विरोध भएको थियो । त्यो बेला त्यहाँका क्लब, आमा समुह समेतले उजुरी दिएपनि खतिवडाकै पक्षमा प्रशासन लागे । उजुरीपछि गुण्डा लगाएर विरोध गर्ने धेरै जनालाई पिट्ने काम पनि खतिवडाले गरे । जनजागृति महिला समाज लामगादीकी तत्कालिन अध्यक्ष कमलादेवी आचार्य लगायतका स्थानीयलाई खतिवडाले लात्ती–लात्तीले हानेको कुरा मिडियामा सार्वजनिक नै भयो । मिडियाको सहयोगले चौतर्फी विरोध हुन थालेपछि जिल्ला विकास समितिले त्यो घाटको ठेक्का नै बदर गर्यो ।

‘मलाई थाहा छैन’: कार्यकारी अधिकृत, ‘थाहा भए त भनिहाल्थे नि’: सूचना अधिकारी

पटकपटक अवैध संरचनाबारे प्रश्न तेस्र्याइरहँदा महानगरले ‘कारवाही हुन्छ’ मात्रै भनिरह्यो । तर हालसम्मे ‘कारवाही’ भएको छैन । यसबारे महानगरका जिम्मेवार पदाधिीकारहरु तर्कन खोज्छन् ।

‘सस्तो बजारलाई कारवाही भयो, सर ?’ ताण्डव न्यूजले पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई प्रश्न गरेको थियो । ‘मलाई त केही थाहा छैन यो बारे, प्रवक्तालाई सोध्नुस्’ बरालले भने ।

ताण्डव न्यूजले महानगरका सूचना अधिकारी भरतराज पौडेललाई सम्पर्क गर्यो । पौडेलले पनि बरालकै शैलीमा उत्तर दिए ‘यो विषयमा केही थाहा छैन । थाहा भए त भनिहाल्थे नि ।’

यता महानगरका प्रवक्ता धनबहादुर नेपालीले अझैसम्म जरिवाना रकम असुल हुन नसकेको स्वीकारे । उनले भने ‘जरिवाना अझै असुल भएको छैन, हामीले पत्र काट्छौं ।’

सम्बन्धित न्यूज

 गुण्डा नाइकेको आडमा अनुमतिबिना तला थप्दै ‘पोखरा सस्तो बजार’

गुण्डा नाइकेको अगाडि लाचार पोखरा महानगर

गुण्डा नाइकेको कम्पनीलाई कहिले हुन्छ कारवाही ?

सस्तो बजारलाई महँगो कारवाही होला त ?

सस्तो बजारलाई महँगो कारवाही हुने

गुण्डासामु झुक्दै, कारवाहीमा चुक्दै : पोखरा महानगर

‘अटेरी’ युवराज खतिवडा पक्राउ

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.