www.tandavnews.com
Fact ~ In search of truth

५ महिनापछि म्याग्दीका पर्यटकीयस्थल खुल्न थाले

यहाँका पर्यटकीयस्थल करिब ५ महिनापछि खुल्न थालेका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि यहाँका पर्यटकीयस्थल भ्रमण गर्न रोक लगाइएको थियो । कोरोना संक्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो ।

घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, झाँक्रीपानी, धौलागिरी र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ । सिंगा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार आरक्ष, गुर्जालगायतका स्थलमा भ्रमण खुलाउन सम्बद्ध पालिका र प्रशासन कार्यालयमा अनुमति मागिएको छ ।

अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल घोडेपानीको टोल सुधार समितिका संयोजक विरेन गर्बुजाले आन्तरिक पाहुना आउन थालेकाले आगामी असोज १ गतेदेखि सबै पाहुनालाई भ्रमण खुला गरिने बताए । ‘घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि फाट्टफुट्ट पाहुना आउन थालेका छन्’, उनले भने, ‘असोज १ गतेदेखि औपचारिकरुपमै होटल र पर्यटकलाई भ्रमणका लागि खुला गर्ने तयारीमा छौँ ।’

गाउँपालिकाको अर्को पर्यटकीयस्थल भुरुङ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले मुस्ताङमा निषेधाज्ञा हटाइएपछि त्यहाँ जाने आउने पाहुनाका लागि पनि बाटोमा पर्ने भएकाले होटल खुलाइएको बताए । ‘काठमाडौँ, पोखरा, मुस्ताङमा सबै खुला भइसकेपछि पाहुना आउन थालेका छन्’, उनले भने, ‘अहिलेसम्म तातोपानीमा बाहिरबाट आएकालाई स्नान गर्न दिएका छैनौं, अब बन्द गरेर हुँदैन भनेर पालिका र प्रशासनसँग समन्वय गरेर खुलाउने तयारीमा छौँ ।’

तातोपानी र पुनहिल भ्रमणमा आउने पर्यटकबाट गाउँपालिकाले ठेक्का प्रतिस्पर्धाबाट प्रवेश शुल्क उठाउने गरेको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा प्रवेश शुल्क उठाउन नपाउँदा गाउँपालिकाको करिब रु १ करोड आम्दानी गुमेको छ । यस वर्ष प्रवेश शुल्क कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गाउँपालिकाले अझै निर्णय लिन सकेको छैन् ।

प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिवकुमार केसीले स्नानका लागि खुला गर्न नगरपालिका र प्रशासनसँग अनुमति मागिएको बताए । तत्काललाई कोरोनाविरुद्धको खोप लगाएकालाई स्नान गर्न मिल्ने गरी तातोपानी कुण्ड खुलाउन प्रस्ताव गरिएको छ ।

असोज–कात्तिक मुख्य पर्यटकीय याम हो । पर्यटन विभागका अनुसार आगामी याममा म्याग्दीस्थित धौलागिरी हिमाल आरोहणका लागि ४० जनाले अनुमति पाइसकेका छन् । पर्यटकीयस्थल बन्द हुँदा त्यस क्षेत्रमा अर्बौं लगानी भएका होटल व्यवसायी बैंकको ऋण र ब्याज तिर्न नसकेर समस्यामा परेका होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.