www.tandavnews.com
Fact ~ In search of truth

यसवर्ष औसतभन्दा बढी वर्षा, अझै विपद् टरिसकेको छैनः मौसमविद्

मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै ‘४ महिना नपुग्दै’ मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार उक्त ४ महिनामा मुलुकमा सरदर १ हजार ४ सय ३ मिलिमिटर पानी पथ्र्यो तर अहिले १८ दिनअघि नै १ हजार ५ सय २७ मिलिमिटर पानी परिसकेको छ । मौसम विज्ञान विभागको जलवायु विष्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजसम्मको विष्लेषण गर्दा सरदर १ हजार २ सय ६८ मिलिमिटर वर्षा हुनुपर्ने थियो तर औसत विवरणअनुसार २ सय ६९ मिलिमिटर बढी पानी परिसकेको छ । यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विष्लेषण गर्दा १ सय २० दशमलव ४ प्रतिशत हो । उनका अनुसार सरदर वर्षाको अनुपात भने ९० देखि ११० प्रतिशतलाई मानिन्छ ।

विभागका अनुसार काठमाडौँमा आजसम्म सरदर १ हजार ७२ दशमलव ५ मिलिमिटर वर्षा हुनुपर्नेमा आजसम्म १ हजार ३ सय ५१ दशमलव २ मिलिमिटर पानी परिसकेको छ । मनसुनको अवधि ‘सेप्टेम्बर अन्तिम’ सम्म १ हजार १ सय ७६ मिलिमिटर पर्नुलाई सरदर वर्षा मानिन्छ । अहिले नै वर्षा नाघिसकेको छ । काठमाडौँमा आजसम्मको तुलना गर्दा १ सय २६ प्रतिशत पानी परिसकेको छ । ४ महिनाको मनसुन अवधिको औसत निकाल्दा भने यो १ सय १५ प्रतिशत हुन आउँछ ।

Batas

प्राप्त विवरणअनुसार जोमसोममा सबैभन्दा बढी वर्षा भएको छ । सरदर १ सय ३७ दशमलव १ मिमिमिटर पानी पर्नुपर्नेमा त्यहाँ ३ सय ३९ दशमलव ३ मिलिमिटर पानी परिसकेको छ । कँडेलका अनुसार यो सरदरको २ सय ५४ दशमलव ८ प्रतिशत हो । यसपाली दोस्रो बढी पानी पर्ने अर्को केन्द्र भैरहवा हो । त्यहाँ १ सय ४० दशमलव ७ प्रतिशत वर्षा भएको छ । उनका अनुसार आजसम्म १ हजार २ सय ४९ दशमलव ८ प्रतिशत सरदर वर्ष हुनुपर्नेमा १ हजार ९ सय २५ मिलिमिटर पानी परिसकेको छ ।

मुलुकमा यसपाली औषधभन्दा बढी वर्षा हुने आँकलनकै बीच भारी वर्षापछिको बाढी, पहिरो र डुबानले ७१ जिल्लालाई नराम्ररी प्रभावित बनायो । मुख्यतः सिन्धुपाल्चोक, मनाङ, पाल्पामा, कास्कीमा, दाङ, पर्वतलगायत १ दर्जन जिल्ला मानवीय र भौतिक क्षतिका दृष्टिले बढी प्रताडित छ । सरकारले मनाङ र सिन्धुपाल्चोकलाई त विपद् संकटग्रस्त जिल्ला नै घोषणा गरेर आवश्यक पुनरुउत्थानका कार्य अघि बढाइसकेको छ ।

मनसुनजन्य घटना ‘बाढीपहिरो र डुबान’ का घटनामा मात्रै यसपाली मुलुकभर १ सय ३० को मृत्यु भयो भने अझै ४१ जना हराइरहेका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ । उक्त जिल्ला गत वर्ष पनि विपद्का दृष्टिले सबैभन्दा बढी प्रभावित थियो ।

जल तथा मौसम विज्ञान विभागले गत वैशाखमै मनसुन अवधिमा सुदुरपश्चिम, कर्णाली गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी ‘३५ देखि ६५ प्रतिशत’ वर्षा हुने अनुमान गरेको थियो । उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा हुने आँकलन गरिएको थियो । प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको थियो । विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनका आधारमा उक्त निष्कर्ष निकाल्ने गरिन्छ ।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने २ ध्रुवीय प्रणालीको अवस्था, जलवायु प्रारुपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी उक्त आँकलन तयार पारिन्छ । यसपाली गएको वैशाखमै आँकलन गरिएको थियो । त्यसमा नेपाल, भारत, म्यान्मारलगायत ९ देशका मौसमविद् सहभागी थिए ।

के अब मौसम खुलेकै हो ?

ठूलाठूला विपद्का घटना निम्तिएपछि पछिल्ला केही दिनदेखि विस्तारै मौसम सफा हुँदै गएको हो कि भन्ने महसुस गराएको छ । कर्णाली प्रदेशबाहेक आज धेरै ठाउँमा घाम लागिरहेको छ । के अब मौसम खुलेकै हो त ? यसपालीको विपद् यति नै हो त ? आम सर्वसाधारणमा प्रश्न खेलिरहेको छ । त्यही प्रश्न मौसमविद्सँग राख्दा त्यो अनुमान गर्न अझै हतारो हुने प्रतिक्रिया प्राप्त भएको छ । उनका अनुसार अझै विपद् टरिसकेको छैन ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मी भन्छन्, ‘मनसुन नसकिँदासम्म जोखिम कायमै रहन्छ, खुलेको जस्तो देखिए पनि कुनै पनि बेला मनसुन एक्टिभ भएर भारी वर्षा हुनसक्छ, नियमित अपडेटमा रहनुपर्छ ।’

यसपालीको मनसुनका समयमा मुलुकका धेरै जसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । सोहीअनुसार नै वर्षा भएको जनाइएको छ । नेपालमा यसपाली मनसुन २ दिन ढिला गरी गएको जेठ २८ गते भित्रिएको थियो । आगामी असोज १७ को आसापास मनसुन बाहिरिनेछ । जेठ ३० गतेदेखि देशैभरि सक्रिय भयो । त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो । सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भयो । अघिल्लो हप्ता तराईका जिल्लामा भारी वर्षा हुँदा बाढी र डुबानको समस्या निम्तियो ।

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २० बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मात्रै २ सय ४७ घर बाढीले भत्काएको छ । कूल १ हजार ७ सय रोपनीभन्दा बढी जमिन लगेको छ । जग्गामा मात्रै ३ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

उता जिल्लाको हेलम्बु गाउँपालिकामा २ सय २७ घर बग्यो । कूल २ हजार १ सय रोपनी बढी जग्गा लगेको विवरण प्राप्त छ । यस्तै पाल्पामा ६, कास्कीमा ७, दाङमा १० र पर्वतमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यसपाली मनसुनजन्य विपद्का कारण ७१ जिल्ला प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वाधनुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठ अहिले मुलुकभर मौसम सामान्य बदली रहे पनि कर्णाली प्रदेशमा छिटफुट वर्षा भइरहेको जानकारी दिनुहुन्छ । ‘सोमबार पनि मौसम सामान्य नै छ, मंगलबार केही बदली हुन सक्छ”, श्रेष्ठले भने । उनले पनि तत्कालै भारी वर्षाको सम्भावना भने नदेखिएको बताए । यद्यपि मनसुन नबाहिरिँदासम्म कुनै पनि बेला बदली हुने श्रेष्ठको भनाइ छ ।

वैशाखयताका घटना र मानवीय क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता कूल १ हजार ७ सय ६२ विपद्का घटना भएको छ । ती घटनाबाट २ सय ३४ जनाको मृत्यु भएको छ । यसमा बाढीपहिरो र डुबान बाहेकका विपद्जन्य घटनासमेत समावेश छ । ३ घटनामा ४१ जना हराइरहेका छन् भने ४ सय ६४ घाइते भए । कूल २ हजार २ सय ७८ परिवार प्रभावित छन् । कूल ७ अर्ब ७७ करोडको क्षति भएको अनुमान गरिएको छ ।

जसमा सबैभन्दा बढी ६ सय ७९ आगलागीका घटना भए । यद्यपि मानवीय क्षतिका हिसाबले भने सबैभन्दा बढी पहिरोबाट ७७ ले ज्यान गुमाएका छन् । सबैभन्दा बढी बाढीमा परेर ३२ बेपत्ता भएका छन् । प्राप्त विवरणअनुसार आगलागीमा परी १४, पहिरोमा ७७, बाढीबाट ३८, अविरल वर्षाका कारण १६, चट्याङबाट ४८, सर्पको टोकाइबाट १६, डढेलोबाट ३, हावाहुरीका कारण १ र जनावरको आक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.