www.tandavnews.com
Fact ~ In search of truth

निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको संक्रमण देखिएको छ ।

उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका संक्रमित फेलापरेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ ।

Batas

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्छ । संक्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्छ । यस्तै संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिसा र पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्छ ।

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्छ । यो रोग बढी संक्रामक पनि हुने गरेको छ ।

निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्छ ।

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्वस्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । उनले रोगको लक्षण देखिएमा उपचार गरिने बताए । संक्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.