www.tandavnews.com
Fact ~ In search of truth

गायिका विष्णु माझीलाई खोज्न हामीले स्याङजा प्रहरीलाई पत्राचार गरेका छैनौंः राष्ट्रिय मानवअधिकार आयोग

पोखरा/ताण्डव न्यूज

हाल चर्चामा रहेकी गायिका विष्णु माझीको खोजी गर्न राष्ट्रिय मानवअधिकार आयोगले जिल्ला प्रहरी कार्यालय स्याङजालाई पत्राचार गरेको समाचार आएपछि यस विषयमा आयोगले स्पष्ट पारेको छ ।

सोमबार काठमाण्डौंबाट सञ्चालित केही अनलाइनमा आयोगले विष्णु माझीको यथार्थ पत्ता लगाउन पत्राचार गरेको विषय उल्लेख गरिएको छ । सोही विषयमा आयोगले पत्राचार गरेको सम्बन्धी अख्तियारीबारे आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलसँग सम्पर्क गर्दा उनले उक्त समाचार तथ्यपरक नरहेको जानकारी दिए ।

Batas

‘म आफैले केही मिडियामा समाचार पढेर थाहा पाएँ’ प्रवक्ता पोखरेलले ताण्डवसँग भने ‘कहि कतै नबोलेको, पत्राचार नगरेको विषयमा कसरी समाचार बनाइयो, थाहा भएन ।’ आयोगमा उजुरी परेपछि त्यस विषयमा छलफल हुने भएपनि कलाकार विष्णु माझीको खोजी गर्न स्याङजा प्रहरीलाई पत्राचार नगरेको पोखरेलले स्पष्ट पारे ।

कलाकार माझीकाबारे आयोगसँग सोधपुछ नै नगरी समाचार बनाएको भन्दै उनले उक्त मिडियाहाउसलाई समाचार हटाउन भनेको बताए । यद्यपि, समचार भने हटाइएको छैन । पोखरेलको भनाइलाई थप पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एवं प्रहरी उपरीक्षक हविन्द्र बोगटीले पनि आयोगबाट कुनै निर्देशन वा पत्र नआएको उल्लेख गरे ।

‘उहाँ (माझी)को गृहजिल्ला भएको र स्थानीयस्तरमा उनको चर्चा व्यापक भएपछि हामीले आफ्नैस्तरबाट खोजबीन गरेको हौं’ प्रमुख बोगटीले भने ‘कहीँकतैबाट निर्देशन आएको हैन । बोगटीका अनुसार माझीको अवस्था बुझ्न माइतीमा केही प्रहरी पठाएपनि खासै जानकारी प्राप्त हुन सकेन । प्रमुख बोगटीका अनुसार ०७५ सालको पुसमा जिल्ला प्रशासन कार्यालय स्याङजामा माझी र उनका श्रीमान् सुन्दरमणि अधिकारी उपस्थित भएका थिए ।

माझीको पछिल्लो तीजेगीत संग्रह ‘चरी जेलैमा’लाई आजसम्म युट्युबमा २ करोड २३ लाख बढीले हेरिसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.