www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका करिब २ तिहाई जनसंख्याले पाउन सकेनन् कोरोना विरुद्धको खोप, स्वास्थ्य निर्देशक भन्छन्: ‘तयारी हुँदैछ, ठ्याक्कै भन्न सकिएन’

जीवन सुवेदी
पाेखरा/ताण्डव न्यूज

पोखरामा विभिन्न पेशा, व्यवसाय वा संघ संस्थामा आवद्ध व्यक्तिहरुले कोरोना विरुद्धको खोप लगाउँदै आएका छन् । उमेर समूह अनुसार ५० वर्ष माथिका नागरिकलाई खोप लगाईएको भएपनि सबैले खोप पाएका छैनन् । सो उमेर समूहभन्दा तलका नागरिकहरुलाई सरकारले औपचारिक रुपमा खोप लगाउने कुनै टुंगाे नलाग्दा गण्डकी प्रदेशभर १० लाख र देशकै ठूलो महानगर पोखरामा मात्र ३ लाख जनसंख्या अहिलेपनि खोपको पर्खाईमा छ ।

११ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा रहेका खोप लगाउनुपर्ने नागरिकहरुमध्ये ६ लाख नागरिकहरुलाई विभिन्न चरणमा गरी खोप लगाईसकिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. खिम खड्काले ताण्डव न्यूजलाई बताए । सर्वसाधारणका लागि कहिलेबाट खोप आउँछ भनेर यकिन नभएपनि दशैँ अघिबाट खोप लगाउन सुरु गर्ने उनको भनाई थियो । “ठ्याक्कै यहि मितिबाट लगाईन्छ भनेर त म भन्न सक्दिन” उनले भने “दशैँ अघि सबैका लागि खोप अभियान थाल्ने गरी तयारी भईरहेको छ” यसअघि ५० वर्ष उमेर सम्मका नागरिकहरुलाई खोप लगाईएको जानकारी दिँदै उनले असोजको दोश्रो सातादेखि ४५ वर्ष माथिका व्यक्तिहरुका लागि पनि खोपको मात्रा दिन सुरु गर्ने बताए । “उमेर समूह अहिले नै भन्न सकिएन तर ४०/४५ र ४५देखि ५० वर्षसम्मका नागरिकहरुले पनि असोजदेखि खोप पाउनुहुन्छ, त्यसपछि धेरै सहज हुन्छ” डा. खड्काले भने । सरकारले प्राथमिकताका आधारमा खोप लगाउँदै गएको भन्दै धैर्य गर्न उनले सबैलाई आग्रह समेत गरे ।

Batas

यता पोखरा महानगरमा पनि विगत डेढ महिनादेखि सर्वसाधारणले खोप लगाउन पाएका छैनन् । यो समयमा निरन्तर खोप लगाएको भए पोखरा महानगरमा हालसम्म २ लाख ६० हजार डोज खोप लगाईएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए । “हामीले महानगरमा कूल २ लाख ६० हजार डोज खोप लगाईसकेका छौँ” उनले भने तर पूर्ण खोप (खोपको दुबै मात्रा) चाहिँ अहिलेसम्म १ लाख ३० हजारले मात्र लगाउनुभएको छ ।” २०६८ कै जनगणनालाई आधार मान्ने हो भने पनि अझै ३ देखि साढे ३ लाख नागरिकलाई खोप लगाउन बाँकी रहेको उनले जानकारी दिए ।

तर महानगरमा स्थानीय नागरिकमात्र नभई विभिन्न ठाउँबाट आएर बसोबास गर्नेहरुपनि रहेको भन्दै खोप लगाउनुपर्नेको संख्या बढ्ने उनको भनाई थियो । “हामीले यहाँको लोकल पपुलेशन मात्र हेरेर भएन सबैलाई खोप दिनैपर्छ, पोखरामा बाहिरबाट आएर बसोबास गरेकाको संख्या पनि ठूलै छ” उनले भने ।

खोप आउन ढिलाई भएका कारण खोप कार्यक्रम डेढ महिनासम्म रोकिएको भन्दै उनले अब छिटै सुरु गरिने बताए । “सायद अर्को सातादेखि ५० वर्ष मुनिका व्यक्तिहरुलाई पनि खोप लगाउन सुरु गरिन्छ होला, यस विषयमा थप छलफल गर्ने तयारी भैरहेको छ” उनले भने “प्रदेश सरकारसंग आवस्यक समन्वय गरेर खोप कार्यक्रम अघि बढाउनेछौँ ।”

नेपालमा हालसम्म चिनबाट ल्याईएको भेरोसिल, जापानबाट ल्याईएको एष्ट्राजेनेका, अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन र भारतबाट ल्याईएको कोभिशिल्ड नामका खोपहरु दिईँदै आएको छ । त्यससंगै विदेश जानुपर्ने व्यक्तिलाई पासपोर्ट र भिषाका आधारमा एष्ट्राजेनेकाको खोप समेत उपलब्ध हुँदै आएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.