www.tandavnews.com
Fact ~ In search of truth

देवचुली नगरपालिकाले पदाधिकारी सुविधामै खर्चियो १ करोड १९ लाख ६८ हजार, वर्ष दिनको भ्रमण र खाना खर्च साढे ३० लाख

माधव भुसाल
नवलपुर/ताण्डव न्यूज

नवलपरासी (बर्दघाट सूस्ता पूर्व)स्थित देवचुली नगरपालिकामा साढे ३ करोड बढी बेरुजु देखिएको छ । आर्थिक वर्ष ०७६/०७७ मा नगरपालिकामा ३ करोड ३५ लाख ३६ हजार बेरुजु देखिएको हो ।

महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार उल्लेखित बेरुजुमध्ये असुल गर्नुपर्ने ३५ लाख ८० हजार रुपैयाँ, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड १६ लाख ६ हजार, नियमित गर्नुपर्ने ७८ लाख ७५ हजार र पेस्की बाँकी ४ लाख ७५ हजार रहेको छ ।

Batas

प्रतिवेदनमा उल्लेख भए अनुसार नगरपालिकाले आर्थिक वर्ष ०७६/७७मा पदाधिकारी सुविधामा १ करोड १९ लाख ६८ हजार खर्च गरेको छ । यो खर्च आन्तरीक आयको २०.२६ प्रतिशत हो ।

नगरपालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँटको रकमबाट ५८ प्रतिशत चालु र ४२ प्रतिशतमात्र पूजिगत निर्माणमा खर्च भएको लेखापरिक्षण प्रतिवेदनमा जनाइएको छ । प्रशासनिकमा बढी र विकास निर्माण प्रयोजनमा न्युन खर्च भएको भन्दै प्रतिवेदनले प्रशासनिक खर्चमा नियन्त्रण गर्न भनेको छ ।

गत आर्थिक वर्षमा नगरपालिकाले भ्रमणको उद्धेश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, अभिलेख, दुरीको विवरण आदि उल्लेख नगरी भ्रमण खर्चमा चालू खर्च शिर्षकबाट १२ लाख ७२ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै, नगरपालिकाले खाना तथा विविध शिर्षकमा १७ लाख ६१ हजार खर्चिएको छ । यस्तो खर्चमा मितव्ययिता कायम गर्न सुझाइएको छ ।

नगरपालिकाले राजस्व संकलन सम्बन्धमा सबै कारोबार बैंकिङ्ग प्रणाली मार्फत नगरेको र निर्माण कार्यमा प्रयोग हुने सामानको  गुणस्तर परीक्षण नगरेको समेत प्रतिवेदनमा उल्लेख छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.