www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा असोज १ देखि विद्यालय सञ्चालन हुने, क्याम्पसको टुंगो लागेन

पाेखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिका नगर शिक्षा समितिको २८ गते बसेको बैठकले महानगरभित्र रहेका सम्पूर्ण विद्यालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी असोज १ गते देखि विद्यालय सञ्चालन गर्ने पाउने निर्णय गरेको छ ।  पोखरा महानगरपालिकाले महानगर अन्तर्गतका सम्पूर्ण विद्यालय, पूर्व प्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण आदि सञ्चालन गर्ने पाउने निर्णय गरेको हो ।

समितिले विद्यालय संचालन कार्यढाँचा २०७७ मा उल्लेखित मापदण्ड एवं मोडालिटी अनुरुप प्रत्येक विद्यालयले अनिवार्य रुपमा विद्यालय सञ्चालन कार्य योजना बनाई विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गरी एक प्रति शिक्षा महाशाखामा अनिवार्य पेश गर्न र असोज १ देखि कक्षा संचालन गर्न महानगरले १० बुँदे सूचना जारी छ ।

Batas

महानगरले विद्यालय सञ्चालन गर्नु पूर्व विद्यालयका कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगणलाई पूर्णरुपमा निर्मलीकरण गरेरमात्र विद्यालय संचालन गर्ने, विद्यालयको भौतिक अवस्था र विद्यार्थी संख्याको आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरक सिफ्ट बनाई कक्षा संचालन गर्ने निर्देशन दिएको छ ।

सूचनामा भनिएको छ, ‘यदि भौतिक दूरी कायम गर्दा सबै कक्षा एउटै समयमा संचालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीहरुलाई कक्षा कोठामा नै अध्यापन गर्न सकिने । यस पूर्व महानगरपालिका शिक्षा महाशाखाबाट जारी गरिएको कोभिड १९ स्वास्थ्य सम्बन्धी मापदण्डलाई अनिवार्य रुपमा पालना गर्ने । विद्यार्थीहरुलाई अनिवार्य माक्सको प्रयोग, साबुन पानीले हात धुने व्यवस्था र कक्षाकोठा बाहिर सेनिटाइजरको अनिवार्य उपलब्ध गराउने । विद्यालय संचालन गर्दा एकभन्दा बढी सिफ्मा संचालन गर्नुपरेमा तल्लो कक्षाका विद्यार्थीहरुलाई दिवा सिफ्टमा र माथिल्लो कक्षाका विद्यार्थीहरुलाई बिहानी सिफ्टमा संचालन गर्ने । विद्यालय संचालन गर्दा आकस्मिक रुपमा स्वास्थ्य सम्बन्धी कुनैपनि समस्या आएमा अविलम्ब नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने र सोको जानकारी वडा कार्यालय र शिक्षा महाशाखालाई जानकारी गराउने । शिक्षण सम्बन्धी कार्ययोजना गर्दा कक्षा संचालन हुने सिफ्टगत रुपमा रहने कक्षा, दिन, संचालन हुने समय, अवधि, कक्षाकोठामा विद्यार्थी बसाइको मोडालिटी, बस संचालन हुने यसको रुटगत विद्यार्थी संख्या, शौचालय, पिउने पानीको प्रयोग आदिको उचित व्यवस्थाको आधारहरु खुल्ने गरी स्पष्ट खाका तयार गर्नुपर्ने । प्रार्थना, खेलकुदलगायत अन्य भीढभाड हुने अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम पनि हाललाई संचालन नगर्ने ।’

उल्लेखित निर्देशनहरु अतिरिक्त शिक्षा महाशाखा, पोखरा महानगरपालिकालगायत सम्बन्धित निकायहरुबाट समयसमयमा प्रदान गरिने निर्देशनहरु पूर्ण रुपमा पालना गर्ने’ सूचनामा उल्लेख गरिएको छ ।

क्याम्पस बारे भने महानगरले कुनै पनि सूचना जारी गरेको छैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.