www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र छायांकनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

मनाङ

कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिरोका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायांकन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायांकन हुन लागेको चलचित्र ‘उचाई’ को छायांकन गरिने भएको हो ।

चलचित्रको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको २ वटा हेलिकप्टरबाट मनाङ आए । निर्माता, निर्देशकको टोली २ दिन मनाङमै बसेर चलचित्र छायांकनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् । सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । २ दिनको अवलोकनपश्चात् टोली आज काठमाडौँ फर्किएर सगरमाथा आधारशिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।

Batas

उनका अनुसार मनाङ छायांकनका लागि निकै उपयुक्त स्थान रहेको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायांकन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायांकन गरिने बताइएको छ ।

यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । २ साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।

यस चलचित्र छायांकनले कोरोनाका कारण थलापरेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्न सक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड चलचित्र प्रदर्शन पश्चात् मनाङ मात्र नभइ सिंगो नेपालकै प्रचारप्रसचार हुने र नेपाललाई विश्व सामु चिनाउन मद्दत पुग्नेछ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.