www.tandavnews.com
Fact ~ In search of truth

वित्तीय पहुँच विस्तार गर्न नेपाल टेलिकमको ‘नमस्ते पे’

जीवन सुवेदी/ताण्डव न्युज

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने ‘नमस्ते पे’ मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन शुरु गरिएको छ । पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सेवा सुरु गरिएको बारे जानकारी दिइएको हो ।

नेपाल डिजिटल पेमेण्ट कम्पनीका निर्देशक कृष्णप्रसाद भण्डारीले सेवा बारे जानकारी दिँदै मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बताए । नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैँकको ३८ प्रतिशत लगानीमा कम्पनी सुरु भएको हो ।

Batas

‘हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध यो सेवा प्रयोगका लागि *500# डायल गरी प्रयोग गर्न सकिन्छ’ उनले भने, ‘यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिनेछ ।’ प्रथमचरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । हाल एन्ड्रोईड मोवाईलमा मात्र उपलब्ध यो सेवा छिटैनै आईओएस ‘आईफोन’ मा पनि उपलब्ध हुने उनले बताए ।

सेवाबारे जानकारी दिँदै नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित रहियाले मोबाइल वालेटमा पैसा लोड गर्नका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकसहित करीब ९ ओटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिने बताए । बाँकी बैंकबाट पैसा लोड गर्नका लागि क्रमशः व्यवस्था गर्दै लगिने उनको भनाई छ । उनले टेलिकमले दिँदै आएका सेवा र आगामी योजनाहरुबारे जानकारी दिए । उनका अनुसार टेलिकमले निकट भविष्यमै फाईभ जि सेवाको परीक्षण पनि सुरु गर्ने तयारी गरिहेको छ । साथै ‘फाईवर टु दि होम’ सेवाको समेत थप विस्तार गरि उपभोक्तालाई सहज र सस्तो दरमा सेवा दिने योजना रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले राज्यको अनूभूति हुनेगरी नेपाल टेलिकमले काम गरिरहेको दावी गरे । ‘विगत डेढ वर्षभन्दा बढी समयदेखि विश्वभर जनस्वास्थ्यको सर्वाधिक ठूलो चुनौतिको रूपमा रहेको कोभिड–१९ महामारी तथा सोको कारणले गर्दा जनजीवन प्रभावित भएको सन्दर्भमा डिजिटल वित्तीय सेवाको उपादेयता थप आवस्यक देखिएको छ, उनले भने । नेपाल टेलिकमकै कारण अन्य सेवा प्रदायकहरुले पनि उपभोक्तालाई सस्तोमा सेवा दिन बाध्य भएको उनको भनाई थियो ।

‘नमस्ते पे’ को सेवा सञ्चालनका लागि खरीद गरिएको उपकरण आपूर्तिमा कोभिड महामारीका कारण भएको ढिलाइ एवं सिस्टमको विकास र परीक्षणमा संलग्न जनशक्तिलाई पारेको प्रतिकुल प्रभावका कारण सेवा सुरु गर्न ढिलाई भएको उनले बताए । कम्पनी स्थापना भएको लगभग १३ महिनाको अवधिमा सेवा सञ्चालनमा आएको उनले जानकारी दिए ।

के हो नमस्ते पे ?

नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो । यसका लागि गुगलको ‘प्ले स्टोर’ वा आईओएसको ‘एप स्टोर’ बाट नमस्ते पे नामक एप्लिकेसन डाउनलोड गर्नुपर्छ । विभिन्न सञ्चार माध्यम र खासगरी अनलाइन मिडियामा पटकपटक प्रकाशित भएजस्तो नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिने भने हुँदैन ।

नमस्ते पे वालेटमा बैंक वा एजेन्ट नेटवर्कमार्फत रकम लोड गरेरमात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ । मोबाइल वित्तीय सेवाको लागि बैंक, मर्चेन्ट, युटिलिटी सेवा प्रदायक, अनलाइन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरुसँग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवं परीक्षणसमेत गर्नुपर्ने भएकोले सम्भावित सबै किसिमका सेवा एकैपटक सञ्चालनका लागि केही समय लाग्ने जनाईएको छ ।

बृहत वित्तीय समावेशिकरण र वित्तीय सेवामा देशभर पहुँच पुर्याउने अभियानमा यस क्षेत्रमा वर्षौं अघिदेखि अगुवाका रूपमा लागिपरेर विविध सेवासुविधाको विकास गरी डिजिटल वित्तीय कारोबारको बजार तयार गर्न महत्वपूर्ण भूमिका खेलेका अन्य सेवा प्रदायक तथा सरोकारवालासँग आपसी हितमा सहकार्य र साझेदारी गर्दै मुलुकभर अत्याधुनिक प्रविधिमा आधारि विद्युतीय भुक्तानी सेवाको सहज र सुरक्षित उपलब्धता सुनिश्चित गर्ने टेलिकमले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.