www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा राष्ट्रिय फुटसल लिगः भ्याक्सिन नलगाएका दर्शकले ‘फुटसल लिग’ हेर्न नपाउने

टिकट दर २ सय

अर्जुन गाहा (सुशान्त)

पोखरा रंगशाला स्थित कभर्डहलमा आयोजना हुने (असोज २ देखि २२ गतेसम्म) पहिलो राष्ट्रिय फुटसल लिग खोप लगाएका दर्शकले हेर्न पाउने भएका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै सिमित संख्यासहित स्वास्थ्य सुरक्षा मापडण्ड भित्र रहेका दर्शकहरुलाई मात्र खेल हेर्न पाउने भएका हुन् ।

अखिल नेपाल फुटबल संघका फुटसल विभाग प्रमुख विनोद गुरुङले दर्शकका लागि प्रवेश शुल्क प्रति दिन २ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको बताए । ‘हामीले कोरोना महामारीलाई मध्यनजर गरेर सुरक्षा मापडण्ड भित्रपर्ने दर्शकलाई गेम हेर्न दिन्छौ, उनले भने, एक दिनको सबै गेम हेर्न एक जनाले २ सय तिरे हुन्छ ।’ उनका अनुसार राउण्ड रोबिनका सबै खेल र फाईनल खेलमा समेत सोही दर कायम राखिने छ ।

Batas

कभर्ड हल प्रवेशका लागि दर्शकले अनिवार्य खोप लगाएको कार्ड वा पिसिआर नेगेटिभ रिपोर्ट साथमा लैजानुपर्ने गुरुङले बताए । ‘कोभिडको महामारीलाई लक्षित गरेर हामीले १ हजार ५ सय दर्शकलाई प्रवेश अनुमति दिन्छौ, उनले भने, ‘दर्शकले सिंगल या डबल डोज लगाएको हुनुपर्छ कि पिसिआरको नेगेटिभ रिपोर्ट साथमा ल्याएको हुनुपर्छ, अन्यथा हामीले प्रवेश गर्न दिने छैनौं ।’

उनले दर्शकको उपस्थितिमा लिग सञ्चालन गर्नको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई जानकारी दिइसकेको बताए । ‘हामीले सिडिओ साबलाई लिगबारे सबै जानकारी दिएर आएको छौ, गुरुङले भने, ‘स्वास्थ्य सुरक्षा मापडण्ड भित्र रहेका दर्शकका लागि मात्र प्रवेश गराउछौ भनेर तोक नै लगाएर प्रक्रियासहित आएका छौ ।’

उनले पत्रकारको हकमा आयोजक (एन्फा) ले उपलब्ध गराएको प्रेस पासका आधारमा प्रवेश पाउने जानकारी दिए । सो लिगको सर्वाधिकार कान्तिपुर मिडिया हाउसले प्राप्त गरेको बताउँदै अन्य संस्था र पत्रकारहरुले भिडियो खिच्न नपाउने बताए । ‘कसैले पनि भिडियो खिच्न पाउँदैनन्, उनले भने, ‘गेमको सबै भिडियो कान्तिपुर टिभीले खिच्ने भएकाले रिपोर्टिङ गर्दा फोटो मात्रै खिच्न पाउँनेछन् ।’

कास्कीका प्रमुख जिल्ला अधिकारीले थानेश्वर गौतमले कोरोना महामारीको न्यूनीकरणमा नागरिकसहित संस्थाहरुको पनि भुमिका रहने बताए ।
उनले पोखरामा हुने लिगमा दर्शक राख्न पाउने जानकारी दिए । ‘उहाँहरुले हामीलाई जानकारी दिएको थियो । हामी केका लागि रोक्ने ? आफैं सचेत भएर स्वास्थ्य मापडण्ड भित्रपर्ने र ५० प्रतिशत दर्शकमात्र राख्ने भन्नुभाछ, गौतमले भने, ‘निकै राम्रो निर्णय गर्नु भएछ ।’

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.