www.tandavnews.com
Fact ~ In search of truth

बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

नवीन लामिछाने

हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिरोका कारण अझ जोखिम र विकट बनेको छ । देश संघीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले ४ वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिरोले ध्वस्त बनाइदिएको छ ।

मस्र्याङ्दी नदीमा आएको बाढी र पहिरोले मनाङको मेरुदण्ड मानिने डुम्रे–बेंसीसहर–चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ । बाढीपहिरोले क्षति पुर्याएको ३ महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन् । केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ ट्रयाक बनाउने काम भइरहेको छ ।

Batas

डुम्रे–बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहरदेखि मनाङको खोत्रोसम्म सवारी सञ्चालन भएको छ तर बीचको १५ किलोमिटर भाग पूर्णरुपमा अझै पनि अवरुद्ध छ । सदरमुकाम चामेमा सवारी सञ्चालन भएको छ भने माथिल्लो मनाङमा पनि सवारी चलेका छन् । तल्लो र माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु– भ्राताङ भिरलाई फोडेर नयाँ ट्रयाक निर्माणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिए ।

माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले बताए । बेँसीसहर–चामे सडक खण्डको १ सय ७ किलोमिटरमध्ये लमजुङको बेँसीसहरदेखि नासोँ गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ । त्यस्तै चामे गाउँपालिकामा स्थानीयसहितको सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उनले बताए । चाडपर्व नजिकिएसँगै सामग्री ढुवानी, आवतजावतमा सहज बनाउनका लागि सडक मर्मत तथा सम्भारलाई तीव्रता दिइएको उनले बताए । बाढीपहिरोको जोखिममा पनि उत्पादित खाद्यवस्तु बजारसम्म पुर्याउनसमेत सहज हुनेछ । बेँसीसहर–चामे–खाङ्सार सडकखण्ड १ सय ७ किलोमिटरमध्ये धेरै स्थानमा बाढीपहिराले क्षति पुर्याएको छ ।

सामान ढुवानीमा सहज

सडक सञ्जालबाट विच्छेद भएको मनाङमा सडक बन्न थालेपछि भौतिक संरचना निर्माण छिटो हुन्छ । सडक सहज नहुँदा बाढीपहिरोबाट क्षति भएका मनाङका भौतिक संरचना निर्माण हुन सकेको छैन । सडक नबन्दा सामग्री ढुवानीमा समस्या भएको छ । पूर्ण रुपमा सडक सञ्चालनमा आएपछि बाढीपहिराले क्षति पुर्याएका भौतिक संरचना निर्माण छिटो हुने बताइएको छ ।

सामग्री ल्याउन सहज भएपछि बाढीपहिरोले क्षति पुगेका भौतिक संरचना निर्माणले तीव्रता पाउनेछ । दसैंसम्ममा चामेसम्म सडक सञ्चालन गराउने प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । सडक सञ्चालन गराउन सके यहाँका सामाजिक तथा व्यक्तिगत भौतिक संरचना निर्माण गर्न सहज हुने उनले बताए ।

विद्युत् अभावले स्वास्थ्य सेवा प्रवाहमा समस्या

बाढीपहिरोको जोखिमयुक्त हिमाली जिल्ला मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या छ । बाढीपहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित हुने अवस्था छ । आधारभूत आवश्यकता पूरा गर्न टेवा पुर्याउने सौर्य उर्जाले मात्रै धान्न नसक्दा समस्या उत्पन्न भएको हो ।

बाढीपहिरोले मनाङमा विद्युत् आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवा प्रत्यक्ष प्रभाव परेको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले जानकारी दिए । ‘विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सयहोग चलाइरहेका छौँ’, उनले भने, ‘जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ । हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन । यहाँका सर्वसाधारणलाई विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।’

विद्युत् आपूर्ति सहज नहुँदा सौर्य ऊर्जा र जेनेरेटरले मात्रै धान्न मुस्किल छ । जेनेरेटर चलाउनका लागि सडक सहज नहुँदा तेल अभावले समस्या निम्त्याएको छ ।

जलविद्युत् सञ्चालनका लागि हेलिकप्टरबाट सामग्री

विकट हिमाली जिल्ला मनाङमा बाढीपहिरो गएको ३ महिना पुगेको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिरोले मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । अवरुद्ध सडक मर्मत तथा सम्भार र निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्ण रुपमा प्रभावित छन् । लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरी जलविद्युत्का सामग्री ढुवानी गरिएको छ ।

३ महिनादेखि डुम्रे–बेँसीसहर–चामे सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । सडकमार्फत् सवारीसाधन मात्रै नभई बटुवासमेत आवतजावत गर्नसक्ने अवस्थामा छैन । लघु जलविद्युत् आयोजनामा निर्भर मनाङमा अन्धकार हटाउन रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहँदै आएका युवाले सहयोग पुर्याएका छन् ।
राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिए पनि विद्युत् प्राधिकरणमा बाढीपहिरोले क्षति पुर्याएको छ । बाढीपहिरोले क्षति पुर्याएको जलविद्युत् मर्मत तथा सम्भारका लागि हेलिकप्टर चार्टर गरी आवश्यक सामग्री ढुवानी गरिएको हो ।

कर्मचारी काममा फर्कन समस्या

बाढीपहिरोको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् । आर्थिक वर्षको अन्तिममा काम सकाएर घर बिदा तथा काज जिल्ला बाहिर गएका कर्मचारी फर्किन सकेका छैनन् । बाढीपहिराले बेँसीसहर–चामे सडक अवरुद्ध भएपछि खाद्यान्न तथा अत्यावश्यक सामग्री लिएर आएको हेलिकप्टर फर्किँदा घर गएका कर्मचारी हालसम्म फर्किन सकेका छैनन् ।

घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीपहिरो र आर्थिक वर्षको अन्तिम काम सकेर घर बिदामा गएका कर्मचारी फर्किन सकेका छैनन् । सबै कर्मचारी घर बिदामा गएका पनि होइनन् । मनाङको सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नै सकस भएको छ’, उनले भने । बेसीसहर–चामे सडक खण्डको केही भागमा सडकको निसानासमेत बाढीपहिरोले बगाएको छ ।

सौर्य ऊर्जाको भर

मनाङ अहिले सौर्य ऊर्जाको भरमा छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्रीमार्फत सेवा प्रवाह भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सहजताका लागि सौर्य ऊर्जा खरिद गरी पठाएको र सौर्य ऊर्जाको भरमा नै सरकारी कार्यालयहरु सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।

उनका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरुमा सौर्य उर्जा जडान गरिएको छ । सौर्य ऊर्जा जडान गरी सेवा र सूचना प्रवाहलाई प्रभावकारी बनाउन सौर्य ऊर्जा, इन्भर्टर र ब्याट्री पठाएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पठाएका थिए । प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले करिब रु १९ लाखको सामान खरिद गरी हेलिकोप्टरमार्फत् चामे पठाएको थियो ।

थोराङ्ला पासबाट खाद्यान्न ढुवानी

हिउँदमा हिमपातले समस्या हुने मनाङले यस पटक वर्षायाममा पनि संकट झेलेको छ । हिउँदताका बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आवतजावत अवरुद्ध हुने जस्ता समस्या भोग्दै आएको थियो तर हिमाली जिल्ला मनाङले यसवर्ष बाढीपहिराको विपद् खेप्नुपरेको छ ।

पछिल्लो केही दिन वर्षा रोकिँदा थोरै भए पनि राहतको सास फेर्न पाए पनि कुन बेला नदीको बहाव बढेर आउने हो भन्ने चिन्ता छ । जसले गर्दा मनाङवासी त्रासैत्रासमा जीवनयापन गर्न बाध्य भएको स्थानीय बताउँछन् । प्राकृतिक विपद् सामना गर्नुपरेको यो जिल्लाले मनसुनको अझै बाँकी रहेकोले थप पीडा भोग्नुपर्ने हो की भन्ने त्रासमा मनाङवासी छन् ।

बाढीपहिरोले विपद्मा परेका मनाङवासीलाई खाद्यान्न अभाव पूर्ति गर्नका लागि थोराङ्ला पास गराएर ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

सामग्री ढुवानीमा हेलिकप्टर

लामो समयदेखि सडक सञ्जालको मर्मत तथा सम्भार र निर्माण गर्न नसक्दा सामान ढुवानीमा समस्या भएको छ । हेलिकप्टरबाट मात्रै सामग्री ल्याउन र लैजान सकिने मनाङ पुर्याउन सकिन्छ ।

मनाङमा उत्पादित वस्तु बजारसम्म पुर्याउन समस्या हुनुका साथै मर्मतसम्भारका सामग्री ढुवानीमा पनि हेलिकप्टरबाहेक अरु कुनै विकल्प छैन । सामग्रीसहित यहाँ उत्पादित वस्तु बजारमा पुर्याउन पनि हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । हेलिकप्टरबाट बजारमा पुर्याएको सामग्री महँगो पर्ने र विदेशबाट आएका सामग्री सस्तो मूल्यमा पाउने देखिएको छ । यसको समाधानका लागि सडक सञ्जाल निर्माणलाई तीव्रता दिनुपर्ने भए पनि सरकारको विभिन्न निकायले ध्यान पुर्याउन सकेको छैन ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.