www.tandavnews.com
Fact ~ In search of truth

आइसिसी विश्वकप क्रिकेट लिग-२ः नेपाल अमेरिकासँग पराजित

काठमाडौँ

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल अमेरिकासँग एकदिवसीयमा पहिलोपटक पराजित भएको हो । अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए । सुसान्त मोदानीले २ रन जोडे ।

Batas

नेपालका सन्दीप लामिछाने र करण केसीले २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७४ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १ सय ५ बलमा ३ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी २÷२ रनमा आउट भए ।

ओपनर आसिफ शेख पनि ३ रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे । अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले ४ विकेट लिए भने केली फिलिपले ३ विकेट लिए । त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक÷एक विकेट लिए ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग आइतबार खेल्नेछ ।

 

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.