www.tandavnews.com
Fact ~ In search of truth

संखुवासभा हत्या काण्डः लोकबहादुरका भाइसहित ४ जना अनुसन्धानमा तानिए

किमाथांका ।

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य ४ जनालाई अनुसन्धानमा तानिएको छ ।

एकै परिवारका ६ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि ४ जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Batas

उनका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । नियन्त्रणमा लिएको अन्य ४ जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताए । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेलापारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ । घटनाबारे थप प्रमाण फेलापरेपछि संघीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक ‘एसपी’ भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए ।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो । लोकबहादुरले ६ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य ४ जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए ।

संखुवासभा प्रहरीले घटनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फेलापारेको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.