www.tandavnews.com
Fact ~ In search of truth

ऋण तिर्न सकिएन अब जग्गा बेच्दै छौंः इँटा व्यवसायी

चितवन

मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण संकटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष २ उद्योग आंशिक सञ्चालन भएका थिए ।

जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग संघका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष ४/५ उद्योगले मात्र सञ्चालन गर्ने तयारी गरेका छन् । अन्य उद्योग सधैँका लागि बन्द हुने अवस्थामा पुगेको बताइएको छ । महामारीका कारण एउटा उद्योगले रु २ करोड हाराहारी नोक्सान बेहोर्नुपरेको उनको भनाइ छ ।

Batas

कतिपय उद्योगले जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । यस वर्ष कोइलाको मूल्यमा झण्डै दोब्बर वृद्धि भएको छ । सरकारले कोभिडबाट पूर्णरुपमा प्रभावित भएका इँटा उद्योगलाई ऋणको ब्याजमा अनुदान नदिएको उनले गुनासो गरे । खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित उद्योग सञ्चालन गर्न नसक्ने भएपछि उद्योगको नामको जग्गानै बेचेर ऋण तिर्न लागेको जानकारी दिए । उनले भने, ‘ऋण तिर्न सकिएन अब जग्गा बेच्दैछौं । यो पेसाबाट विस्थापित हुन आएको छ । धेरैको अवस्था आफ्नो उद्योगको जस्तै भएको छ ।’

यहाँको इँटा मकवानपुर, नवलपुर, गोर्खा, तनहुँ, पोखरा, काठमाडौँसम्म बिक्री हुने गर्दथ्यो । उनले भने, ‘सरकारले उद्योग जोगाउने योजनासम्म ल्याएन ।’ राप्तीको लालपुरको मनकामना र खैरहनीको चैनपुरको न्यू संगम इँटा उद्योग गत वर्ष चलेका थिए । स्थानीयको प्रदूषणको गुनासो, माटोको अभाव र महँगो, कोइलाको अश्वभाविक मूल्यवृद्धि, मजदुरको अभावलगायतका कारण उद्योगी पुनः उद्योग सञ्चालन गर्ने मनस्थितिमा छैनन् ।

इँटा व्यवसायी विनोदकुमार श्रेष्ठले गत वर्षदेखि ३५ वर्ष पुरानो श्री इँटा उद्योग चलाउन सकेका छैनन् । उनको गुनासो थियो, ‘कच्चापदार्थनै महँगिएको छ, लगानी उठाउने अवस्थै रहेन विस्थापितनै बन्नुपर्यो ।’ गत वर्ष आंशिकरुपमा चलेको मनकामना इँटा उद्योगका सञ्चालक पुष्पकुमार पिया यस वर्ष अन्यौलमा छन् । गत वर्ष मुस्किलले उत्पादन गरेको १० प्रतिशत इँटा बिक्री भएको उनले गुनासो गरे । पूर्वतिरबाट सस्तो मूल्यका इँटा आउन थालेपछि जिल्लाका गुणस्तरीय इँटा खपत हुन नसकेको व्यवसायीको भनाइ छ । काँँचो इँटा पानीले बिगार्दा कुनै क्षतिपूर्ति नपाइने र बीमा पनि नभएको व्यवसायी बताउँछन् । इँटाका लागि गिट्टी, बालुवा नमिसिएको चिम्टाइलो माटो चाहिन्छ । कात्तिकदेखि वैशाखसम्म बनाउने र पकाउने काम हुन्छ । इँटा पकाउन अत्याधुनिक प्रविधिमा लगानी गरेका व्यवसायी पलायनका स्थितिमा पुगेका हुन ।

जिल्लाका उद्योगमा १ वर्षमा ८ हजारले रोजगार पाउने गरेको संघले जनाएको छ । नेपाल इँटा उद्योग महासंघका उपाध्यक्षसमेत रहेका सापकोटाले एउटा उद्योग सञ्चालन गर्न रु ३ करोडभन्दा बढी लगानी हुने जानकारी दिए । नेपालमा १ हजार ३ सय इँटा उद्योग रहेका छन् । तीमध्ये ४० प्रतिशत बन्द हुने अवस्थामा रहेको बताइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.