www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीनारायण क्याम्पसको पढाई सुरु भएकै दिन प्रमुखको कार्यकक्षमा आंशिकको तालाबन्दी

ताण्डव

कोरोना कहरले लामो समयदेखि अवरुद्ध भएको पठनपाठन भौतिकरुपमा खुलाएकै दिन आज त्रिवि आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

संघले १६ वर्षदेखि आंशिक प्राध्यापकहरुको बौद्धिक तथा मानसिक शोषण गरेको भन्दै तालाबन्दी गरेको हो । ०७६ फागुन ११ गते त्रिविद्वारा गठित वार्ता समितिसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । त्यसपश्चात् ०७७ को मंसिरमा समेत पेशागत संघ, संगठन र विद्यार्थीसँग त्रिपक्षीय सम्झौता भएपनि क्याम्पस प्रशासनले चासो नलिएपछि तालाबन्दीमा उत्रन बाध्य भएको इकाइका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।

Batas

‘हामीसँग पटकपटक सम्झौता गर्दै धोका दिँदै आइएको छ’ अध्यक्ष गौतमले भने ‘समान कामको समान ज्याला नदिइएसम्म आन्दोलनलाई निरन्तरता दिइनेछ ।’ तालाबन्दी अघि इकाइले क्याम्पस प्रमुख डा. सरोज कोइरालालाई ज्ञापनपत्र बुझाउँदै आगामी ११ गतेसम्म पनि समस्या समाधान नगरे १२ गतेदेखि प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध गर्ने जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख कोइरालाले मन्त्रीमण्डल विस्तारपछि आंशिक प्राध्यापकको समस्या समाधान हुने बताएका छन् । आंशिकको मुद्धाबारे सरकार जानकार भएको र शिक्षामन्त्री, विश्वविद्यालय अनुदान आयोग हुँदै त्रिविमार्फत आंशिकको माग सम्बोधन गर्ने तयारी भइरहेको कोइरालाले जनाए ।

०७७ चैत मसान्तसम्म १ सय ४० आंशिक प्राध्यापकलाई शिक्षण सहायक (करार) सरहको सेवा, शर्त र सुविधा दिने सहमति भएको थियो । कूल कक्षाभारमध्ये ६० प्रतिशत कक्षा सञ्चालनको भूमिकामा रहेका आंशिक प्राध्यापकको संख्या हाल २ सय बढी पुगिसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.