www.tandavnews.com
Fact ~ In search of truth

उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी

पोखरा

कोभिड–१९ का कारण पछिल्लो समय ५ महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

‘लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान सञ्चालन गर्ने तयारी गरेका छौँ, अब यसै हप्ता उडान हुनेछ’, उनले भने । उनले सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले अब १/२ दिनभित्रै व्यावसायिक उडान गरिने जानकारी दिएका छन् ।

Batas

संस्थाले सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई एकदिने सचेतना तालिमसमेत प्रदान गरेको जानकारी दिए । भण्डारीले भने, ‘लामो समय उडान नहुँदा उपकरण बिग्रिन सक्ने भएकाले ग्लाइडर, रेस्क्यु, जाँच गरेर टेष्ट फ्लाइट गरी उडान सञ्चालन गर्नेछौँ ।’ संस्थाका महासचिव बलराम आचार्यले उडानसँग आबद्ध २ सय व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको बताए ।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतम र नेपाल नागरिक उड्डयन प्राधिकरणका सेप्टी स्ट्यान्र्डड विभागका कार्यालय प्रमुख राजु श्रेष्ठ, सिनियर प्रबन्धक देवन्द्रप्रसाद पाण्डे, अफिसर महेश अर्यालले उडान सुरक्षासम्बन्धी प्रशिक्षण दिएका थिए ।

साहसिक खेलका रुपमा ब्राण्डिङ भएको प्याराग्लाइडिङ पोखरामा सन् १९९९ देखि व्यावसायिक उडान सुरु भएको हो । प्याराइडिङको पोखरामा ६० कम्पनी रहेका छन् भने ३ सय ५० प्यारा पाइलट छन् । विदेशी प्यारापाइलट भने करिब १५ जना रहेका छन् । झण्डै रु १ अर्बको लगानी यस क्षेत्रमा छ भने १ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिलो बन्दाबन्दी खुकुलो भएसँगै प्याराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छुट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए ।

छुटसँगै प्याराग्लाइडिङ गर्न पोखरा आउने आन्तरिक पर्यटकको संख्या निकै बढेको थियो । रु ५ हजारदेखि रु ८ हजारसम्म शुल्क लिइँदै आएकोमा पछिल्लो समय रु २५ सयदेखि रु ३ हजारमा उडान हुँदै आएको थियो । अब सञ्चालन हुने उडानमा कति शुल्क लिने भन्ने विषयमा टुंगो लागिनसकेको र व्यवसायीबीच छलफल गरेर मात्र शुल्क निर्धारण गर्ने तय गरिएको महासचिव आचार्यले जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.