www.tandavnews.com
Fact ~ In search of truth

बगरफाँटका २ सय ८ घरपरिवारलाई खानेपानीको हाहाकार

hima aus

गलेश्वर

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २ सय ८ घरपरिवार विगत ३ महिनादेखि खानेपानी अभावका कारण खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् । खानेपानी अभावमा काकाकुलको नियति भोग्न बाध्य यहाँका बासिन्दा एकाबिहानै गाग्री बोकेर पानीको खोजीमा निस्कने गर्छन् । खोला र कुवाको दूषित पानीका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकीलगायतका मौसमी रोग देखिएको स्थानीयवासीले बताएका छन् ।

गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २ सय ८ घरपरिवारलाई खानेपानीको समस्या भएको हो । यसबीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भएपनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पुर्याएपछि बगरफाँटका बासिन्दा विगत ३ महिनादेखि खोला र कुवाको पानी पिउन बाध्य भएका हुन् । मर्मतकार्यमा बगरफाँट खानेपानी तथा सरसफार्इ योजना उपभोक्ता समितिले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

classic tech

गाउँमा रहेका २८ वटा धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटकी सावित्री शर्माले बताए । २ सय १४ घरधुरी रहेको बगरफाँटमा ३ महिनादेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयवासीले बताएका छन् ।

विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रेखोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफार्इ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि वर्षेनी बर्खाको समयमा बाढी र पहिरोले पाइप लाइनलाई क्षति पुर्याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकामा यस वर्ष भने पाइप लाइन र मुहानलगायत ७ ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइने छ । खानेपानीको समस्याका कारण बगरफाँटको २ सय १४ घरधुरीका १ हजार २ सयभन्दा बढी जनता प्रत्यक्षरूपमा प्रभावित भएका छन् । गाउँको पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भएपनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...