www.tandavnews.com
Fact ~ In search of truth

मर्दी ट्रेकमा आन्तरिक पर्यटकको चहलपहल

कृष्ण दवाडी

कास्कीको मर्दी हिमाल पदयात्रामा आन्तरिक पर्यटक पुग्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह बढेको छ । कोरोनाले शिथिल यस पर्यटनमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक पर्यटक आउन सुरु गरेको त्यस क्षेत्रका व्यवसायी बताउँछन् । विदेशी पर्यटकले पनि सोधीखोजी सुरु गरेका छन् ।

कोभिड अघिको अवस्थामा यहाँको पयर्टन फर्किन समय लाग्ने भए पनि स्वदेशी पदयात्रीको चहलपहल सुरु भएकाले आशा जगाएको छ । मर्दी ट्रेकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी सुदीप गौतमले अहिले पदयात्रामा आन्तरिक पर्यटक आउन सुरु गरेको बताए ।

Batas

‘नेपाली हिँडन् थालेका छन्, विदेशीको पनि सोधपुछ आउन थालेको छ’, गौतमले भने, ‘दिनमा १५÷२० जना नेपाली पर्यटक आएका छन् ।’ दसैँको बिदा सुरु भएलगत्तै थप पर्यटक आवागमन हुने ठानिएको छ । सरकारले आगामी फागुनसम्म सबैलाई कोरोना खोप दिने बताएको र अहिले पनि केहीले खोप पाइसकेकाले मर्दी क्षेत्रको पर्यटन विस्तारै पहिलाकै अवस्थामा फर्किनेमा आशावादी रहेको उनी बताउँछन् । मर्दी पदयात्राका धम्पुस, अष्ट्रेलियन, पोथना, हाइ र लो क्याम्पका होटल तथा रेष्टुराँटसमेत अहिले खुलेका छन् ।

होटलमा आउने पर्यटकका लागि स्वास्थ्यमापदण्ड पालना गराउने गरिएको गौतमले बताए । विदेशी पर्यटक आउन समय लाग्ने भएकाले आन्तरिक पर्यटकमै अझै केही महिना पर्यटन निर्भर हुने बताइन्छ । विशेषगरी दसैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । विगत वर्षमा विदेशी पर्यटक उल्लेख्य हुने गरे पनि २ वर्षयता विदेशीको आगमन ठप्प छ । छोटो अवधिमा नजिकबाट हिमशृङ्खलाको अवलोकन मर्दी पदयात्राको आकर्षण हो । पदयात्री मौसमानुसारका फूल फुल्ने हरियालीसँग यात्राका क्रममा आनन्दित हुने गर्छन् ।

गत वर्ष दसैँ तिहारमा पर्यटकको घुँइचो भएपछि कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रामा आउने पर्यटकसँग पिसिआर रिपोर्ट अनिवार्य गरिएपछि पर्यटक घटेका थिए । पछि निषेधाज्ञा जारी भएपछि सबै होटल बन्द गरिएका थिए । मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले सो क्षेत्रका पर्यटन व्यवसायीलाई कोभिड विरुद्धको खोपका लागि जिल्ला प्रशासन तथा गाउँपालिकासँग पहल गरिएको बताए ।

स्वदेशी विदेशी पर्यटकको चहलपहल सुरु भएसँगै आफूहरु पनि खोप लगाएर निर्धक्कका साथ पर्यटकलाई स्वागत गर्न चाहेको बताए । उनले भने, ‘कोभिडले २ वर्ष हामी मारमा पर्यौं। अहिले सरोकारवाला सबैसँग सल्लाह गरेर होटल व्यवसाय खोलेका छौँ । खोप लगाएर ढुक्क भएर पर्यटकको स्वागत गर्न चाहेका छौँ । अबको पालोमा खोपको व्यवस्था हुुन्छ भनेर आश्वासन पाएका छौँ ।’

अहिले पानी पर्न विस्तारै कम हुँदै गएर मौसम खुल्दै गएकाले समेत हिमालको सुन्दरता र गाउँठाउँको हरियालीले पर्यटकलाई स्वागत गरिरहेको गुरुङ बताउँछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.