www.tandavnews.com
Fact ~ In search of truth

नवलपुर पूर्वः मध्यविन्दु नगरपालिकाका १५ वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा

टेकराज पोखरेल
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका १५ वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् ।

नगरपालिकाको ६ वटा वडामा स्वास्थ्य चौकी निर्माण भएर आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने बाँकी ९ वटा वडामा भने आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै भवन निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वडा नं २, ४, १०, १४ र १५ मा स्वास्थ्य चौकी तथा वडा नं ७ मा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य संस्थाका लागि भौतिक संरचना निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताए । नगरपालिकाले सबै नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन भन्दै यस अगाडि नै सबै वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई नियुक्ति गरिसकेको रानाले बताए ।

Batas

गत आर्थिक वर्ष २०७७÷७८ को चैत २५ गते ९ महिनामा निर्माणसम्पन्न गर्नेगरी ९ वटा वडाको भवन निर्माणका लागि चितवनको भरतपुरस्थित न्यौपाने मल्टिप्रपोज कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । नगरपालिकाले प्रतिभवन रु ४३ लाख २४ हजार ८ सय ९५ नबढ्ने गरी ठेक्का सम्झौता आह्वान गरेकामा न्यौपाने मल्टिप्रपोजले प्रतिभवन रु २४ देखि २७ लाखसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सम्झौता गरेको छ ।

नगरपालिकाभित्र स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख रानाले बताए । मध्यविन्दु–७ चोरमारामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने तयारीमा नगरपालिका जुटेको भन्दै नगरप्रमुख रानाले नवलपुर स्वास्थ्य चौकी र नयाँबेलाहनी स्वास्थ्य चौकीमा ल्याबसहितको भवनको स्तरोन्नतिको कार्य भइरहेको जानकारी दिए ।

नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरुमा औषधि र स्वास्थ्यकर्मीको दरबन्दी पूर्ण रुपमा पूर्ति भइसकेको नगरप्रमुख रानाको भनाइ छ । नगरपालिकाको ३ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.