www.tandavnews.com
Fact ~ In search of truth

जडीबुटी खेतीतर्फ म्याग्देली

ध्रुवसागर शर्मा

म्याग्दीमा पछिल्लो समय जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । किसानले व्यावसायिकरुपमा जडीबुटी खेती थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तार गर्ने क्रम बढ्दै गएको छ ।

धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले सामूहिक रुपमा जडीबुटी खेती थालेको छ । उक्त समूहले गत वर्षदेखि नै जडीबुटी खेतीको सुरुआत गरेको थियो । समूहले यस वर्ष करिब २ रोपनी जग्गामा उतिस खेती विस्तार गरेको छ । सो समूहमा आवद्ध २५ किसानले उतिसको बिरुवा रोपण गरेको अध्यक्ष गोर्खा छन्त्यालले जानकारी दिए । ‘बजारमा उतिसको माग अत्यधिक छ, त्यसैले यसको व्यावसायिक रुपमा खेती गरिएको हो’, उनले भने ।

Batas

समूहले स्थानीयस्तरमा बिरुवा उत्पादन गरी वृक्ष रोपण गरेको हो । स्थानीयवासीले उतिसलाई पेटको जुका मार्न र शक्तिवद्र्धक औषधिका रुपमा प्रयोग गर्दै आएका छन् । समुद्री सतहदेखि २ हजार ७ सय मिटरको उचाइमा रहेको गुर्जा जडीबुटीको सम्भावनायुक्त ठाउँ हो । सो ठाउँमा हिमाली किसान समूहले टिउथिबा सामुदायिक बनको २ हेक्टरभन्दा बढी पाखो जग्गा भाडामा लिई व्यावसायिक जडीबुटीखेती थालेको छन्त्याल बताउँछ ।

जिल्लामा पछिल्लो समय गुर्जो, अस्वगन्ध, दालचिनीलगायत जडीबुटीको खेती गर्न थालिएको छ । धवलागिरीको मुना, मुदी र गुर्जाका जंगलमा प्रशस्त जडीबुटी पाइन्छ । स्थानीयवासीले यसको व्यावसायीक खेती गर्न थालेका वडा नम्बर ३ का वडाध्यक्ष पुर्म पुन बताउँछ । बेनी, पोखरा, काठमाडौंलगायत ठाउँबाट जडिबुटीको माग हुन थालेको उनले बताए ।

पछिल्लो समय जडीबुटीलाई औषधिका रुपमा प्रयोग गर्ने क्रम बढ्दै गएको आयुर्वेदिक औषधालयका प्रमुख प्रेमप्रसाद गौतमले बताए । ‘जडीबुटीको प्रयोग र माग बढ्न थालेको छ’, उनले भने । सर्वसाधारणले विस्तारै जडीबुटीको महत्व बुझ्दै गएकाले यसतर्फ आकर्षण बढेको उनको भनाइ छ । जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउनाका साथै त्यसको सामना गर्ने शक्तिसमेत बढाउँछ । महत्व नबुझ्दा बहुमूल्य जडीबुटी जंगलमा त्यत्तिकै खेर गइरहेको गौतमले बताए ।

जडीबुटीको औषधि बनाइ उपचार गर्नेबारे बेद, उपनिषद् र धार्मिक ग्रन्थमा समेत व्याख्या गरेको पाइन्छ । आयुर्वेदमा आचार्य गरेका बेनी नगरपालिका–२ ज्यामरुककोटका जीवन शर्मा आचार्य अष्टगन्ध, गुर्जो र तुलसीपत्र औषधिका रुपमा नियमित सेवन गरे शरीरमा अक्सिजनको कमी हुन नपाउने तथा रोग लागेमा प्रतिरोधात्मक क्षमता बढ्ने बताउँछन् । यसैगरी कोरोना संक्रमण भएका व्यक्तिलाई दालचिनी, अस्वगन्धा, तुलसी, मेवा र अम्बा ‘बेलाउती’ को पत्र मिश्रित चूर्ण वा रस सेवन गराए प्रतिरोधात्मक क्षमता वृद्धि हुने चिकित्सक बताउँछन् ।

बेनी नगरपालिका–२ का ८५ वर्षीय वेदप्रसाद उपाध्याय नियमितरुपमा तुलसी पत्र र गुर्जो सेवन गर्दै आएको बताउँछन् । उपाध्याय मात्र होइनन् अर्मनका देवी सापकोटा र अर्थुङ्गेका नीलकण्ठ आचार्य पनि नियमितरुपमा तुलसीपत्र, गौमुत्र, गुर्जो र अन्य जडीबुटी औषधिका रुपमा प्रयोग गर्दै आएको बताए ।

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.