www.tandavnews.com
Fact ~ In search of truth

डिपिआर भैसकेका योजना रोकिनु दुर्भाग्यपूर्णः एमाले नेता अधिकारी

जिल्ला समन्वय समितिको पाँचौ जिल्ला सभा

ताण्डव न्यूज

नेकपा एमालेका नेता, संघीय सांसद एवं पूर्व गृहमन्त्री खगराज अधिकारीले कास्कीमा एमाले नेतृत्वको सरकारका पालामा डिपिआर समेत भईसकेका योजनाहरु रोकिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

जिल्ला समन्वय समिति कास्कीको पाँचौ जिल्ला सभाको उद्घाटन कार्यक्रममा बोल्दै नेता अधिकारीले एक चरण पार गरिसकेका योजनाहरु रोकेर अहिलेको सरकारले विकास विरोधी काम गरेको बताए । ‘

Batas

हामीले निर्वाचन क्षेत्र पिच्छे रणनीतिक मार्गका योजनाहरु बनाएका थियौँ, डिपिआर भैसकेको थियो, टेण्डर हुने स्टेजमा थिए ।’ उनले भने, ‘अहिले सुन्दैछौँ अहिले ती योजना स्थगित भएका छन्, त्यो हाम्रा लागि दुर्भाग्य हो ।’ निर्वाचन क्षेत्रलाई गाउँपालिका तथा सदरमुकामको केन्द्र जोड्ने योजनास्वरुप अघिल्लो सरकारले ती कामहरु अघि बढाएको उनको दावी थियो ।

विकासका कामहरु समयमै सक्नुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउँदै नेता अधिकारीले निर्माण व्यवसायी, जनप्रतिनिधि र जिल्ला समन्वय समितिबीचको संयन्त्र बनाएर आवश्यक समन्वय गर्नुपर्ने सुझाव दिए । विकास आयोजनाको बजेट फ्रिज हुन नदिनेतर्फ पनि पालिका र प्रदेशसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

नेता अधिकारीले कास्कीका ९ वटै तालहरुको विस्तृत अध्ययन तथा अनुसन्धान हुनुपर्ने आवस्यकता औँल्याए । उनले पाठ्यक्रम नै बनाएर रामसार र सिमसार क्षेत्रको अध्यापन गराउनुपर्ने धारणा राखेका थिए । पोखराको भौगोलिक अवस्था र यसको विविधताबारे चर्चा गर्दै नेता अधिकारीले मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा रहेका प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव दामोदर रेग्मीले प्रदेश कार्यालयले पनि जिल्ला समन्वय समितिसंग आवश्यक समन्वय गरेर विकासका योजनाहरुमा सहयोग गरिरहेको बताए । त्यस्तै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले संघ र प्रदेशले गर्ने विकासका योजनाहरुको न्यूनतम रकम तोकिनुपर्ने धारणा राखिन् । पालिका तथा वडाहरुले गर्न सक्ने स–साना योजनाहरुमा पनि प्रदेश र संघको बजेट जाँदा खर्चको पारदर्शीता कम हुने गुरुङको भनाई थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विगतमा जिल्ला विकास समिति हुँदाको बखत भएका विकास निर्माणका योजनाहरु निश्चित निकायलाई हस्तान्तरण नहुँदा ती योजनाहरुको मर्मत सम्भार कसले गर्ने भन्ने अन्यौल भएको बताए । यसका लागि प्रदेश र संघले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

सभामा गत आर्थिक वर्षमा भएगरेका कामहरुको समिक्षा तथा छलफल समेत हुने र आवस्यक पृष्ठ पोषण लिएर समन्वय समितिले काम अघि बढाउने जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । उनकै भनाईमा सबै स्थानीय तहहरुले आआफ्ना प्रस्तुतिहरु राखेर बन्द सत्रमा थप छलफल गरिनेछ ।

कार्यक्रममा ४ वटै गाउँपालिकाका प्रमुखसहित प्रतिनिधिहरु, पोखरा महानगरपालिकाका वडा अध्यक्षहरु गैरसरकारी संस्थाका प्रतिनधिलगायतको सहभागिता छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.