www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामाः प्रधानमन्त्री

काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड–१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेको ‘ग्लोबल कोभिड–१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड–१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएको हो ।

Batas

उक्त सम्मेलन आयोजना गरेकामा राष्ट्रपति वाइडेनलाई धन्यवाद दिँदै उनले नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको उल्लेख गरे ।

‘हामीले कोभिड–१९ बाट सुरक्षित रहनका लागि जनस्वास्थ्यका क्षेत्रमा सचेतना फैलाउने कामलाई प्राथमिकता दिएका छौँ’, उनले भने । प्रधानमन्त्री देउवाले नेपालले कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित जनसंख्यामध्ये ५० प्रतिशतलाई खोपको पहिलो मात्रा र एक तिहाइ जनसंख्यालाई पूर्ण खोप लगाइसकेको जानकारी दिए । आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोपको पूर्ण मात्रा लगाउने सुनिश्चितता पनि भइसकेको उनको भनाइ छ ।

उनले नेपालले कोभिड–१९ को परीक्षण तथा खोपको पहुँचको दायरालाई ग्रामीण क्षेत्रसम्म पनि पुर्याएको जानकारी पनि सो सम्बोधनमा गराए । प्रधानमन्त्री देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गर्ने विदेशी दाता राष्ट्र तथा साझेदार सबैलाई धन्यवाद दिँदै विश्वस्वास्थ्य सुरक्षा कोषमा योगदान गर्ने साझेदारप्रति समेत आभार प्रकट गरे ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.