www.tandavnews.com
Fact ~ In search of truth

चाडपर्वमा कास्की प्रहरी: सर्प्राइज चेकिङ,पोइन्टहरुमा व्यापक निगरानी, ‘हाई अलर्ट’मा हुनेछन् टोली

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

नेपालीहरुको महान चाड दशै–तिहार नजिकिदै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीले पर्व विशेष सुरक्षा योजनाको तयारी थालेको छ । पर्वको समयमा शहरमा सवारी र नागरिकको चाप बढ्ने भएकाले सम्भावित आपराधिक क्रियाकलाप रोक्ने उद्देश्य सहित पर्व लक्षित विशेष सुरक्षा योजनाको तयारीमा जुटेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले केही दिनमै सुरक्षा योजना सार्वजनिक गर्ने ताण्डव न्यूजलाई बताए । उनले पर्व नजिकिदै गर्दा विगतको तथ्याङ्क विश्लेषण गरि सुरक्षा योजना अघि सार्ने बताए । ‘हामीले विगतमा भएका घटनाहरुको अध्ययन, मुल्याङ्कन र विश्लेषण गरेर सुरक्षा योजना तयारी गरेका छौँ’, एसपी थापाले भने, ‘विशेषत बैंक वित्तिय संस्थाहरुमा हुन सक्ने सुरक्षा चुनौती, चोरीका घटनाहरु र पर्यटकीय स्थलहरुमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोकथाम गर्न तथा संलग्नहरुलाई नियन्त्रणमा लिनका लागि योजना तयार गरेका छौँ ।’

Batas

उनले पर्वको समयमा अत्याधिक रुपमा लागुऔषधको ओसारपोसार हुन सक्ने बताउदै रोकथामका लागि सोही अनुरुप विशेष रणनीति सहित प्रहरी परिचालन गर्ने बताए । ‘चाडपर्व नजिकिदै गर्दा सामाजिक हित विपरितका कार्यहरु हुन सक्छन्, जस्तै स्न्याचिङ भयो, चोरी भयो, कुनै नशालु पदार्थ खुवाउने, गाडीभाडा बढि असुल्ने विगतमा पनि भएका घटना हुन्’, उनले भने, ‘त्यस्तो घटनालाई मुल्याङ्कन गरेर हामीले सादा पोशाकमा प्रहरीहरु परिचालन गर्छाै र विभिन्न पोइन्टहरुमा चेकिङ गर्छाै । यतिमात्र नभएर प्रविधिको प्रयोगका लागि सिसिटिभीकोे निगरानी बढाउछौ ।’

उनले आगामी १० गते देखि पोखराका मुख्य चोकहरुमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याउने बताए । ‘१० गतेबाट हामीले नागरिक सहायता कक्ष सुरु गर्छाैँ’, एसपी थापाले भने, ‘पृथ्वीचोक र बाग्लुङ बसपार्कमा यात्रुका लागि नागरिक सहायता कक्ष स्थापना गर्दैछौँ ।’

उनले गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार नै पर्व लक्षित सुरक्षा योजना अघि बढाईएको बताए । ‘गत वर्षको घटनाको अध्ययन गरि कसरी कहाँ र कहिले प्रहरी परिचालन गर्ने भनेर रणनीति तय भैसकेको छ ।’ एसपी थापाले भने ।

पर्वको सुरक्षाका लागि रोमियो टोली, मेट्रो टोली , पिकेट, पट्रोल, मोबाईल भ्यानहरु साथै सादा पोशाकमा समेत प्रहरी परिचालन हुनेछन् । कास्कीमा एसपी थापाको मातहतमा ९ सय बढि प्रहरी कर्मचारी कार्यरत छन् ।

पर्व नजिकिएसँगै सुरक्षा योजना सफल पार्न प्रदेश प्रहरी कार्यालयबाट ६ सय प्रहरी माग गरेको एसपी थापाले बताए । ‘पर्वको सुरक्षा योजना गरेर थप प्रहरी मगाईरहेका छौँ । प्रदेश प्रहरीसँग अनुरोध गरेका छौ । नियमित ड्यूटी बाहेक थप ६ सयको हाराहारीमा प्रहरी परिचालन गर्ने योजना बनाएका छौँ ।’

उनले नियमित हुदै आएको चेकिङ बाहेक आकस्मिक जाँच पनि गरिने बताए । चेकिङको निगरानी नियमित हुन्छ, उनले भने, ‘सप्राईज चेकिङ बढि नै गराउँछौ । रातीको समयमा पनि गराउँछौ र दिउँसोको समयमा पनि गराउँछौ ।’

सवारी अनियमितताको निगरानी बढ्छः प्रहरी निरिक्षक बस्नेत

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक अमृत बहादुर बस्नेतले पर्वको समयमा सवारी चाप बढने भएकाले सवारी अनियमितताको निगरानी बढाउने बताए ।

उनले सवारी कर्मचारी तथा व्यवसायीहरुसँग सचेतनामुलक कार्यक्रम गरिसकेको बताउदै पर्वको समयमा सम्भावित आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि ट्राफिक प्रहरी खटिने बताए ।  ‘जिल्ला र हाम्रो काम संयुक्त नै हौ । सबै मिलेर सुरक्षाको काम गर्छाैँ’, उनले भने, ‘पर्वमा यात्रुको चाप बढ्ने भएकाले विभिन्न स्थानमा चेक पोष्ट राख्छौ । सवारीको क्षमता भन्दा बढि यात्रु राख्न दिदैनौँ, त्यसको निगरानी हुन्छ । त्यस्तो भेटिएको खण्डमा कारवाही गर्छाै ।’

उनले असुरक्षित यात्राले सवारी दुर्घटना हुन सक्ने बताउदै भने, ‘असुरक्षित तरिकाले यात्रा गर्न मनाही छ । बसको छतमा र सिट क्षमता भन्दा बढि यात्रु ओसारपोसार गर्न कसैले पाउदैनन् ।’ उनले यातायात व्यवस्थाको कानून विपरित कार्य गर्ने सबै सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने दोहोर्याए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.