www.tandavnews.com
Fact ~ In search of truth

व्यापारी महराको हत्यामा संलग्न ४ जना सार्वजनिक

बैतडी

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

सूर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो । यसअघि बिहीबार प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो । हत्यामा ३ जनाको संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

Batas

सूर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौँमा मृत फेला परेका थिए । उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो ।

अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली बिहीबार घटनास्थलमा खटिएको थियो । शाही नेतृत्वको टोलीले घटना भएको सो घट्नामा संलग्न रहेकाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालतबाट आज ७ दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.