www.tandavnews.com
Fact ~ In search of truth

अनुवंशीय रक्तस्राव (हेमोफिलिया) भएका व्यक्तिको गणना हुने

काठमाडौँ

सरकारले राष्ट्रिय जनगणना–२०७८ मा यसपटक अनुवंशीय रक्तस्राव (हेमोफिलिया) भएका व्यक्तिको पनि गणना गर्ने भएको छ ।

जनगणनामा अपांगता भएकाको सूचीमा १० औँ नम्बरमा हेमोफिलिया भएका व्यक्तिको गणना गर्ने सूची रहेको छ । आज आयोजित कार्यक्रममा हेमोफिलिया सोसाइटी, नेपालका महासचिव विकल्प न्यौपानेले हेमोफिलिया भएका व्यक्ति धेरै भएकाले कोही पनि नछुट्ने तरिकाले गणना गर्न आग्रह गरेका छन् ।

Batas

उनले गणक आउँदा घरपरिवारमा भएका हेमोफिलिया भएका व्यक्तिको विवरण स्पष्ट दिनसमेत सबैलाई आग्रह गरे । सोसाइटीले हेमोफिलियाको वास्तविक तथ्यांक समेटिनुपर्ने माग गरेको थियो । कार्यक्रममा हेमाफिलिया विशेषज्ञ डा. विशेष पौडेलले नेपालमा करिब ३ हजारदेखि ५ हजारको संख्यामा हेमाफिलियाका भएका व्यक्ति भएको अनुमान गरिएतापनि अहिलेसम्म करिब ७ सय ५० जना मात्रको पहिचान गरिएको बताए ।

नेपालमा कान्ति बाल अस्पताल र वीर अस्पतालमा हेमोफिलियाका भएका बिरामीको उपचार गरिन्छ । हेमोफिलिया मानवरक्त तत्वमा कुनै एउटा तत्वको कमी भएर सिर्जना हुने अवस्था हो । हेमोफिलियाका कारणले घाउ, ठक्कर र चोटका कारणले मात्र नभई आफसेआफ आन्तरिक रक्तस्राव भइरहने र अत्यधिक पीडा हुने गर्छ । त्यस्तै पटक–पटकको रक्तस्रावका कारण जोर्नी वा मांसपेशीहरू सुन्निने र रक्तस्राव कारण जोर्नीहरू बिग्रने, जोर्नीहरू बिग्रिएपछि नजिकका मांसपेशीहरू सुक्दै जाने र अन्ततः गम्भीर अपांगता हुन्छ ।

वीर अस्पतालका डा. निरजकुमार सिंहले बिरामीको खोजी गरी उपचार गर्नुपर्ने बताए । बर्सेनि २ सय बिरामी थपिने गरेको उनको भनाइ छ । उनले जनगणनाका वास्तविक हेमोफिलियाका रोगीको पहिचान गर्नुपर्ने बताए । राष्ट्रिय अपांग महासंघका महासचिव रामु बस्नेतले हेमोफिलियाका बारेमा स्थानीय स्तरमा जनचेतना जगाउनुपर्ने बताए ।

हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यो आमाबाट पुरुष सन्तानमा सर्ने वंशाणुगत रोग हो । रगतमा १३ प्रकारका प्रोटिनयुक्त तत्व हुन्छन् । रगतमा तत्व ८ र तत्व ९ डिफिसेन्सी भएको अवस्थामा हेमोफिलिया हुने गरेको डा. सिंहले जानकारी दिए । हेमोफिलिया रोगको औषधि सधैँ नै खाइरहनुपर्छ । आवश्यक औषधोपचारको अभावमा ३/४ जनाको बर्सेनि ज्यान जाने गरेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.