www.tandavnews.com
Fact ~ In search of truth

विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि कुश्माका २ विद्यालय बन्द

अहिले झण्डै ५० विद्यार्थी बिरामी

पर्वत

धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका २ विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो । विगत १ सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रअ गणेश तिमिल्सिनाले जानकारी दिए ।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेका थिए । त्यसको १ सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको प्रअ तिमिल्सिनाले बताए । पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन्् ।

Batas

बालबालिका तथा विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । सुरुमा बिरामी परेका विद्यार्थी १ सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीमा संक्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको तिमल्सिनाको भनाइ छ ।

अहिले झण्डै ५० विद्यार्थी बिरामी परेका छन् । उनीहरु सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको छ । वडाध्यक्ष शिवप्रसाद पौडेलले बिरामी परेका विद्यार्थीको पिसिआर वा एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीलाई बोलाइएको बताए ।

भाइरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीलाई भनिएको छ । उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गरेर औषधि सेवन गरिरहेको प्रअ तिमिल्सिनाले जानकारी दिए । जिल्लामा यसै सातादेखि विद्यालयको भौतिक उपस्थितिमा पढाइ गरिएको छ ।

यही असोज १ गतेदेखि विद्यालय खुलेका हुन् । विद्यालय खुलेको केही दिनमै बिरामी परेपछि पढाइ प्रभावित बनेको प्रद्यानाध्यापक तिमिल्सिनाले बताए । जिल्लामा कोरोना संक्रमण दर भने न्यून छ । अहिले जिल्लाभरमा सक्रिय संक्रमितको संख्या ७ छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.