www.tandavnews.com
Fact ~ In search of truth

१२ वर्षमा राहुघाट जलविद्युत् आयोजनाको काम ३० प्रतिशत

सन्तोष गौतम
म्याग्दी

नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

भारतीय आयात निर्यात ‘एक्जीम’ बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो । पुरानो ठेकेदार आइभिआरसीयल टाँट पल्टिएपछि विसं २०७२ मा उसँगको ठेक्का तोडेर विसं २०७३ मा प्राधिकरणले सहायक कम्पनी रघुगंगा हाइड्रो स्थापना गरेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २०७० मा निर्माण सकिनुपर्ने थियो ।

Batas

यो आयोजना निर्माणका लागि विसं २०७४ मंसिरमा रु ६ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट् ‘जेपी’ ले पनि अपेक्षाकृत काम गर्न सकेको छैन । आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म ३० प्रतिशत प्रगति भएको बताए । ‘४५ महिनाको ठेक्का सम्झौताको म्याद सकिन लागेको छ’, उनले भने ‘ठेकेदारले थप १ वर्ष म्याद थप्न प्रस्ताव गरेको छ ।’

पुरानो ठेकेदारले १० प्रतिशत काम गरेको थियो । हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट र ६ सय ५४ मिटर लामो ४ वटै अडित ‘मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग’ निर्माण सकिएको छ । पावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग, बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ ।

६ किलोमिटर २ सय मिटर लामो सुरुङ मध्य हालसम्म १ हजार ७ सय ३७ मिटर निर्माण सकिएको छ । प्रेसर साफ्टको २ सय ५४ मिटर सुरुङ निर्माण भएको छ । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

ठेकेदारले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा ढिलासुस्ती भएको आयोजना प्रभावित क्षेत्र रघुगंगा गाउँपालिका–३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्लले जानकारी दिए । पहिरोका कारण बाँध, पहिलो र दोस्रो नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि रोकिएको छ । बाँधमा जग्गा व्यवस्थापन र पहिलो नम्बरको अडित खनेर सुरुङ निर्माणको तयारी गरेको थियो । पिप्लेको बगैँचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिरोका कारण तिल्केनीचौरमा राहुघाटको विद्युत्गृह निर्माणलाई समेत प्रभावित बनाएको छ ।

प्राकृतिक विपद् र कोरोना ‘भाइरस’ को महामारीलाई ठेकेदारले ढिलाइको कारण दाबी गरेको छ । विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ‘भेल’ ले तिल्केनीचौरमा विद्युत्गृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ ।

अर्धजलाशययुक्त ‘पिआरओआर’ प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता ‘पिपिए’ गरेको थियो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २ सय २० केभी ‘डबल सर्किट’ क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट ‘लिलो’ को ४ टावर तयार भएको छ ।

 

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.