www.tandavnews.com
Fact ~ In search of truth

आइपिओ जारी गर्दै मध्य भोटेकोशी

काठमाडौं

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन ‘आइपिओ’ बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले कूल रु ९० करोड बराबरको रु १ सय अंकित मूल्यका ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो । निष्कासन गरिने कूल ९० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको र ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ ।

Batas

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयर प्रतिसेयर रु १ सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । माग गरिए बमोजिमका सेयरमा असोज २५ गतेसम्म आवेदन नआए ढिलोमा कात्तिक ३ गतेसम्म खरिदका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १ सय २ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख ४ हजार १ सय १ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धकहरु एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन् ।

आवेदकले सी–आस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत तथा अनलाइनबाट ‘मेरो सेयर’ मार्फत सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र आयोजना प्रभावित तथा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि गरिएको निष्कासनमा आवेदन दिई बाँडफाँटमा परेका सेयरधनीहरुले यस निष्कासनमा पुनः आवेदन दिएमा निजको आवेदन रद्द हुने उल्लेख गरेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.