www.tandavnews.com
Fact ~ In search of truth

हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार तुलसी दिवस र दुर्गा घिमिरेलाई

गण्डकी

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कारबाट तुलसी दिवस र दुर्गा घिमिरेलाई सम्मान गरिने भएको छ ।

समितिका संस्थापक स्व. हेमबहादुर प्रधानद्वारा स्थापित उक्त पुरस्कारबाट धनकुटाका संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील धरानकी दुर्गा घिमिरेलाई परस्कृत गरिने भएको हो ।

Batas

प्रत्येक २/२ वर्षमा वितरण गरिने पुरस्कारको राशि जनही रु १ लाख छ । घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको भए पनि कोरोना महामारीका कारण पुरस्कार वितरण गर्न नसकिएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । १९९८ असारमा धनकुटामा जन्मिनुभएका दिवस २९ वर्षको उमेरमै प्राज्ञ भएको थियो । सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षाको अध्ययनसँगै साहित्य र संस्कृति अनुसन्धानका क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

जापान, कोरिया, बेलायत, अमेरिकाजस्ता दर्जनभन्दा बढी देशमा लोकवार्तासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोक संस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवसका कविता जस्ता कृति प्रकाशित छन् । दिवसले सन् १९७४ र १९७८ मा लोकसंस्कृति विषयमा अमेरिकाको इष्ट वेस्ट सेन्टर, हवाई राज्यबाट र सन् १९७६/१९७७ र १९९६ मा जापानको टोकियो विश्वविद्यालयबाट लोक साहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गरेको हो ।

त्यसैगरी दुर्गा घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील छिन् । घिमिरेले महिला बेचबिखन तथा सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि योगदान दिएकी छन् । उनको योगदानको उच्च कदर र महिला सशक्तीकरणका क्षेत्रमा अरुलाई पनि लाग्न अभिप्रेरित गर्ने भएकाले पुरस्कृत गर्ने निर्णय गरिएको समितिका सचिव श्रेष्ठले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा असोज १६ गते पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.