www.tandavnews.com
Fact ~ In search of truth

धवलागिरी हिमाल आरोही श्रेष्ठ आजै साँझ आधार शिविर आइपुग्ने

काठमाडौं

विश्वको सातौँ अग्लो धवलागिरी हिमालमा पहिलोपटक २ नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने ८ हजार १ सय ६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङल्हामु शेर्पाले आज बिहान ५ बजे आरोहण गरेको आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सका अध्यक्ष मिंमा शेर्पाले जानकारी दिएका छन् । उक्त कम्पनीबाट आजै अन्य २० जनाले धवलागिरी आरोहण गरेका थिए । यसअघि नेपाली महिलाले धवलागिरीको आरोहण गरेको रेकर्ड छैन ।

आरोही श्रेष्ठ फोटो पत्रकार र शेर्पा आरोहणमा आबद्ध व्यक्ति हुन् । श्रेष्ठ शिखर पुगेर फर्केपछि तेस्रो क्याम्पबाट बिहान मसँग कुराकानी भएको थियो । आज साँझसम्म आधार शिविर आइपुग्ने योजना छ, उनकी साथी पत्रकार सृष्टि काफ्लेले भने ।

Batas

शरद् ऋतुको आरोहणका लागि उक्त कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरी आरोहणमा गएकी थिइन् । गोरखा आरुघाट निवासी उहाँको टोलीले यसअघि गत वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ८ हजार ०८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर कीर्तिमान बनाएको थियो । कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल पनि आरोहण गरेको थियो ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा हिमाल आरोहणका लागि २५ आरोही समूहका २ सय ३० आरोहीले आरोहण अनुमति लिएकामा धवलागिरी आरोहणका लागि ४ आरोही समूहका १२ महिला र २८ पुरुष गरी कूल ४० आरोहीले आरोहण अनुमति लिएका थिए । यस याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १७ आरोही समूहका १ सय ७१ आरोही छन् । मनास्लु आरोहणमा ३८ महिला र १ सय ३३ पुरुषले अनुमति लिएका थिए ।

धवलागिरी गाउँपालिका र रघुगंगा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरी हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ ।

सन् १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धवलागिरी आरोहण गरेको रेकर्ड छ तर विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वेक्षण गरेको भए पनि १९४९ को स्विस हवाई सर्वेक्षण अज्ञात थियो । केही समयअगाडि विश्व कीर्तिमानी बनाउने क्रममा म्याग्दीका निर्मल पुर्जाले अक्सिजनबिना नै आरोहण गरेपछि धवलागिरी हिमालको चर्चा भएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.