www.tandavnews.com
Fact ~ In search of truth

मुद्दामा दाबी नपुगेको भन्दै ४ पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

काठमाडौँ

सर्वोच्च अदालतले ४ पूर्वप्रधानन्यायाधीशविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश सपना मल्लको संयुक्त इजलासले आज पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध परेको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो । उक्त निर्णयसँगै ४ पूर्वप्रधानन्यायाधीशले सफाइ पाएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालकानुसार ४ पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

Batas

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरेको थियो । उक्त विघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक भएको उल्लेख गर्दै ४ पूर्वप्रधानन्यायाधीशले गत पुस २४ गते प्रेस विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिविरुद्ध अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले आफैँ अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । उक्त आदेशअनुसार उनीहरु आफैं सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका थिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.