www.tandavnews.com
Fact ~ In search of truth

च्याङ्ग्राको ऊन प्रशोधन गर्ने उपकरण नेपालमा नहुँदा धागो उद्योगीलाई समस्या

सन्तोष गौतम/निरज थकाली

म्याग्दी

नेपालमा ऊन प्रशोधन गर्ने उपकरण र प्रविधि नहुँदा समस्या भएको छ । उपकरण र प्रविधि अभावले पस्मिनाको कच्चापदार्थमा आत्मनिर्भर बन्ने नेपाली उद्योगीको योजनामा चुनौती थपिएको छ ।

Batas

स्वदेशी कच्चापदार्थ ‘ऊन प्रशोधन’ गरेर पस्मिना बनाउने धागो उत्पादन गर्ने तयारीमा जुटेका उद्योगीलाई प्रविधि र उपकरण अभाव भएको हो । संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले हिमाली क्षेत्रमा च्याङ्ग्राको ऊन ‘भुवा’ संकलन गर्न थालिए पनि प्रशोधन गर्ने उपकरण नेपालमा नभएकाले समस्या भएको बताए । मंगोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्ने उपकरण नहुँदा संकलित ऊन ‘भुवा’ प्रशोधनका लागि विदेश पठाउनुपर्ने अवस्था आएको उनले बताए ।

‘मुस्ताङको चराङमा सङ्कलन केन्द्र खोलेर रु १ करोड २५ लाख बराबरको २ हजार ८ सय किलोग्राम ऊन खरिद गरेका छौँ’, उनले भने, ‘विज्ञले २ महिनाभन्दा बढी समय भण्डारण गरेर राख्न नमिल्ने सुझाव दिएका छन् । प्रशोधनका लागि विदेश पठाउन सहकारसँग पहल गरिरहेका छौँ । विदेश लैजान नसके संकलन गरेको ऊन कुहिने र करोडौँ लगानी डुब्ने खतरा छ ।’

काठमाडौंमा ऊन प्रशोधन गर्न संघको अगुवाइमा स्थापना भएको नेपाल फाइबर प्रोसेसिङ उद्योग सञ्चालन नहुँदासम्मका लागि प्रशोधन गर्न चीन पठाउनुपर्ने उनले बताए । संघले गत साउनमा मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङमा संकलन केन्द्र स्थापना गरेको छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रुपमा प्रयोग हुन्छ ।

संघका अनुसार नेपालबाट वार्षिक रु ३ अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १ सय ९५ टन पस्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट च्याङ्ग्राको भुवा खरिद गरिएको संघका कोषाध्यक्ष कृष्ण पंगेनीले बताए । संघको टोली मुस्ताङ संकलन केन्द्र उद्घाटन र च्याङ्ग्रा तथा पस्मिना कृषक संघ गठन गरेर म्याग्दी हुँदै शुक्रबार काठमाडौँ फर्किएको छ ।

वाणिज्य र उद्योग मन्त्रालयका सचिव तथा युरोपियन युनियनको नेपालस्थित कार्यालयका राजदूत नोना डेप्रेज च्याङ्ग्राको भुवाको सम्भाव्यता अध्ययनका लागि यसैहप्ता मुस्ताङ पुगेर फर्किएको थियो । विश्वव्यापार संगठनले परामर्शदाता सिचन श्रेष्ठलाई अध्ययनका लागि मुस्ताङमा पठाएको छ । श्रेष्ठले २० प्रतिशत कृषकले मात्र हाल च्याङ्ग्राको भुवा निकाल्ने गरेका र त्यसले पनि बजार नपाएको बताए ।

पस्मिना उद्योगी भीम शेरचनले मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत धागोको आयात घटाउन सकिने बताए । ‘परम्परागत र अव्यस्थितरुपमा संकलन गरिएको मुस्ताङको भुवा प्रशोधन गर्दा ३० प्रतिशत प्रयोगयोग्य हुने देखिएको छ’, उनले भने, ‘च्याङ्ग्रापालन र भुवा संकलनलाई आधुनिक र व्यवस्थित बनाउने हो भने गुणस्तर बढाउन सकिन्छ ।’

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन साँट्ने गरेका थिए । कोरोनाका कारणले पछिल्लो २ वर्षयता व्यापार मेला नहुँदा करोडौं मूल्यको ऊन बिक्री हुन सकेको थिएन ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.